कालिमाटी बजारमा बिक्रीका लागि राखिएका काँक्रो र हरियो धनियाँमा भेटियो हानिकारक विषादी


काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिद्वारा आज गरिएको नियमित कीटनाशक अवशेष परीक्षणमा बजारमा बिक्री वितरणका लागि आएका केही तरकारीहरूमा हानिकारक विषादीको मात्रा उच्च भेटिएको छ ।

समितिको प्रयोगशालाबाट गरिएको परीक्षण अनुसार धादिङ, नवलपरासी, काभ्रेपलाञ्चोक, ललितपुर, काठमाडौँबाट कालिमाटीमा भित्रिएका वा उत्पादित भएका विभिन्न १५ ओटा तरकारीका नमुनामध्ये दुई ओटा नमुना उपभोगका लागि अयोग्य ठहरिएका छन् ।

परीक्षणको क्रममा भक्तपुरको स्वस्थानी केसीले बेच्न राखेको हरियो धनियाँमा अर्गानोफस्फेट समूहको ५५.२९२ भाग भेटिएको छ, जुन उपभोगका लागि अयोग्य घोषित गरिएको हो । त्यस्तै नवलपरासीकी कल्पना चौलागाई बेच्न राखेको काक्रोमा अर्गानोफस्फेटको मात्रा ४६.५०० पाइएको छ ।

यसैबिच अन्य १३ ओटा नमुनाहरू भने निर्धारित मापदण्डभन्दा कम स्तरको विषादी अवशेष मात्र भेटिएकोले उपभोग योग्य रहेको समितिले जनाएको छ । समितिको अनुसार तिते करेला, काउली, बन्दा, गोलभेंडा, परवल, खुर्सानीलगायतका अन्य नमुनामा कार्वामेट र अर्गानोफस्फेटको मात्रा न्यून रहेको पाइएको हो ।

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी जाँच गर्दा रोकावट प्रतिशत ३५ भन्दा कम उपभोगयोग्य, ३५ देखि ४५ सम्म केही दिन राखेर खान मिल्ने र ४५ भन्दा बढी खान अयोग्य मानिन्छ ।