काठमाडाैँ । पाल्पाको तानसेन नगरपालिका–१३ बैकुण्ठे भीरमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना भएको छ।
दाङको साधारण नमुना माध्यमिक विद्यालय, राजपुरबाट विद्यार्थी लिएर रानिमहलतर्फ जाँदै गरेको दाङ दर्ता नं.५ ख १०८९ नम्बरको बस बिहान करिब ६ः०५ बजे अचानक अनियन्त्रित भई सडक किनारको भीत्तामा ठोकिँदा ११ जना घाइते भएका हुन्।
दुर्घटनाबारे जानकारी प्राप्त हुनेसाथ रानिमहलस्थित अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोलीले सबै घाइतेलाई उद्धार गरी उपचारका लागि मिसन अस्पताल पठाएको प्रहरी कार्यालय पाल्पाले जनाएको छ। बस किन अनियन्त्रित भयो भन्ने बारेमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उक्त बसमा सवार घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले पुष्टि गरेको छ। घाइतेमध्ये दाङ राजपुर गाउँपालिका–४ का ४० वर्षीय शत्रुघन गुप्ता, घोराही उपमहानगरपालिका–११ का २२ वर्षीय दामोदर रेउले, घोराही–१४ का ३५ वर्षीय बस चालक सन्तोष ढकाल, राजपुर–५ की १२ वर्षीया सन्ध्या भण्डारी, राजपुर–६ की १८ वर्षीया दिलकुमारी रावत, राजपुर–६ की १० वर्षीया सन्तोषी चौधरी, राजपुर–६ का १९ वर्षीय अजय नेपाली, राजपुर–५ की २३ वर्षीया सृजना यादव, राजपुर–५ का १३ वर्षीय आयुष भण्डारी, राजपुर–५ का १५ वर्षीय अभिषेक यादव तथा घोराही–१ का ३५ वर्षीय बसन्त योगी रहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्