थापाथली टेकुदोभान क्षेत्रका सांस्कृतिक सम्पदा संरक्षण र पर्यटन प्रवर्धन सहकार्यको विषय समितिमा छलफल


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरको प्राचीनता, इतिहास र संस्कृतिसँग जोडिएका थापाथली–टेकु दोभान क्षेत्रका सम्पदाको संरक्षण तथा प्रवर्धनलाई अब ठोस रूपमा अघि बढाउने तयारी गरेको छ।

महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतका अनुसार गुठी संस्थानसँग सहकार्य गर्दै सो क्षेत्रका सम्पदाहरूको संरक्षण, समुन्नयन, रेखदेख र दीर्घकालीन व्यवस्थापनका लागि साझा ढाँचा निर्माण गर्न लागिएको हो।

बिहीबार समितिको बैठकमा गुठी संस्थानका अधिकारीहरूसँग गरिएको छलफलमा संयोजक संगतले परम्पराको निरन्तरता तथा भौतिक सांस्कृतिक सम्पदाको दीगो बचावटलाई मूल उद्देश्य बनाएर काम अघि बढाइने बताए।

२०७२ सालको भूकम्पपछि पुनःनिर्माण कार्य सम्पन्न भएर गुठी संस्थानलाई हस्तान्तरण भइसकेका सम्पदाको दीर्घ व्यवस्थापनमार्फत थापाथली–टेकु क्षेत्रलाई सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्न दुवै संस्थाबीच सम्झौता गर्ने तयारी भइरहेको उनको भनाइ थियो।

समितिका सदस्य–सचिव तथा सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राईका अनुसार सम्झौताको प्रारम्भिक मस्यौदा तयार भइसकेको छ र दुवै पक्षका दायित्वबारे सहमति जुटाउँदै प्रक्रिया अगाडि बढाइँदै छ।

थापाथली–टेकु दोभान क्षेत्रका भूकम्प प्रभावित तथा जीर्ण सम्पदाहरूको पुनःनिर्माण तीन चरणमा सम्पन्न गरिएको छ। एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोग र नेपाल सरकारको बराबरी लागत साझेदारीमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी सुधार परियोजना अन्तर्गत २ किलोमिटर क्षेत्रमा फैलिएका प्राचीन संरचनाहरूको पुनःनिर्माण, सुदृढीकरण, मर्मत–सम्भार तथा सौन्दर्यीकरण कार्य सम्पन्न गरेको हो।

पहिलो चरणमा ३८ करोड ८२ लाख बढी लागतमा मानन्धर सत्तल, मुन्सी घाट सत्तल, पञ्चनारी घाट, शिव मन्दिर, लक्ष्मेश्वर मन्दिर, लक्ष्मेश्वर सत्तल, पुजारी सत्तल, राजभण्डारी सत्तल, पुरोहित घाट सत्तल र वेस्ट सत्तल पुनःनिर्माण गरिएका छन्। दोस्रो चरणमा ४८ करोड ६४ लाख बढी लागतमा १३ संरचना पुनःनिर्माण गरिएको छ, जसमा तीनदेवल मन्दिर, नारायण सत्तल, शिव मन्दिर, सीताराम मन्दिर, हनुमान सत्तल लगायतका संरचनाको सुदृढीकरण र मर्मत सम्पन्न भएको छ।

तेस्रो चरणमा ४५ करोड १३ लाख बढी लागतमा कालमोचन घाट सत्तल, बैरागी सत्तल, उदासी सत्तल र सन्यासी सत्तल पुनःनिर्माण गरिएका छन्।वडा नम्बर ११ र १२ समेटिएको थापाथली–टेकु दोभान क्षेत्र प्राचीन भकारी, अखडा, मन्दिर, घाट, देवल तथा विभिन्न धार्मिक–सांस्कृतिक संरचनाले भरिपूर्ण छ। यहाँका सम्पदाहरू सामाजिक चलनचल्ती, रीतिरिवाज, धार्मिक विश्वास र स्थानीय परम्परासँग गहिरो रूपमा जोडिएका छन्। कतिपय सम्पदाको इतिहास लिखित अभिलेखमा नमिले पनि जनश्रुति र सांस्कृतिक कथनले तिनको पुरातात्विक तथा सांस्कृतिक महत्व प्रमाणित गर्छ।

महानगर र गुठी संस्थानबीचको आगामी सहकार्य यस क्षेत्रका सम्पदालाई व्यवस्थित संरक्षण गर्दै सांस्कृतिक र पर्यटन विकासका महत्वपूर्ण आधारका रूपमा उभ्याउने अपेक्षा गरिएको छ।