काठमाडौँ। काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगालले महानगरभित्र सिप भएका महिलालाई उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउने नीति अघि सार्दै अब महिलाहरू ‘खाली बसिरहनु नपर्ने’ व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
महानगरको सामाजिक विकास विभागले बिहीबार आयोजना गरेको महिला समूह, समिति र सशक्तिकरणसम्बन्धी अन्तरक्रियामा बोल्दै उनले ‘एक वडा, एक नमूना’ उद्यमशीलता कार्यक्रमले सकारात्मक नतिजा दिन थालेको उल्लेख गर्दै महिला समूहहरूलाई समेत सक्षम उद्यमीका रूपमा विकास गर्ने लक्ष्य रहेको बताइन् ।
उपप्रमुख डंगालले महिलाको घरभित्रै उपलब्ध सिपलाई आय स्रोतमा जोड्न सकिने भन्दै हतोत्साहित नहुन आग्रह गरिन् । “घरमै बसे पनि मिठो खाना बनाउन जान्ने, कपडा सिलाउन सक्ने, सजावटका सामान बनाउन सक्ने महिलामै ठूलो सम्भावना छ। मैले के जान्ने र भनेर नबसौँ, यसैलाई आयमा रुपान्तरण गर्न सकिन्छ,” उनले भनिन् ।
सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाका अनुसार महिला समिति र समूह गठनपछि महिलाको अवस्था, पहुँच, आत्मसम्मान र निर्णय क्षमतामा उल्लेखनीय परिवर्तन आएको छ। २०७५ सालदेखि सुरु गरिएको महिला विकास समूह स्थापना अभियान २०७८ सम्ममा सबै वडामा विस्तार भइसकेको छ। अहिले महानगरमा ३५ महिला विकास समिति र ती अंतर्गत ६ सय समूह क्रियाशील छन्।
समूहका सदस्यहरूले महिनामा १ सयदेखि ५ सय रुपैयाँसम्म बचत गर्ने गर्छन्। दुई वर्षपछि ब्याजसहित रकम फिर्ता हुने प्रणालीका कारण महिलामा बचत संस्कार र आर्थिक व्यवस्थापन क्षमता बढेको विभागको भनाइ छ। हाल महानगरभित्रका समूहमा ३ हजार १ जना महिला आवद्ध छन्। उनीहरूले महिनाको बैठक, सामाजिक गतिविधि र सिपमूलक प्रशिक्षणमार्फत आय–आर्जन गर्दै आएका छन्।
समूहमा आवद्ध भएपछि महिलाहरू घरबाहिर निस्कने, सामाजिक सहभागिता बढाउने अवसर पाएको अनुभव सहभागीहरूले सुनाएका छन्।



प्रतिक्रिया दिनुहोस्