नेपालगन्ज । नेपाल पर्यटन बोर्डको आयोजनामा आज नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङ सम्बन्धी अनुशिक्षण कार्यक्रम गरिएको छ ।
नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाटा),बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको अनुशिक्षण कार्यक्रमको उदघाट्न नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक तथा दिगो पर्यटन परियोजना संयोजक श्रद्धा श्रेष्ठले गरेकी थिइन्।
श्रेष्ठले लुम्बिनी प्रदेशभित्र थुप्रै पर्यटकीय सम्भावना रहेकाले पत्रकारिताका क्षेत्रबाट पनि उजागर गर्न जरुरी रहेको बताइन् । उनले नेपालगन्ज कर्णाली र सुदूरपश्चिमको गेटवे हुनुका साथै प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण भएको उल्लेख गर्दै पर्यटकीय गन्तव्यको प्रबद्र्धनका लागि मिडिया र सरोकारवालाहरुबीच समन्वयात्मक भुमिका महत्वपुर्ण हुने बताइन् ।
उनले भनिन्, “नेपाल पर्यटन बोर्ड र दिगो पर्यटन परियोजनाले पछिल्लो समय राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रको सिप विकास र क्षमता अभिवृद्धिमा टेवा पुर्याउने उद्देश्यले यो अभिमुखिकरण कार्यक्रम राखिएको छ ।”
आगामी दिनमा यस क्षेत्रको पर्यटक विकासमा थप कार्यक्रमहरु ल्याउने पनि उनले प्रतिबद्धता व्यक्त गरिन् ।
नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाटा),बाँके र क्रियाशील पत्रकार महिला बाँकेको समन्वयमा गरिएको कार्यक्रमका सहभागीहरुले यस्ता कार्यक्रमले पर्यापर्यटनको क्षेत्रमा भइरहेका प्रयासलाई उजागर गर्न थप क्रियाशिलता बढाउने बताइन् ।
कार्यक्रममा नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाटा) बाँकेका निर्वतमान अध्यक्ष श्रीराम सिग्देलले पर्यटनको बिषयमा बाँकेमा पछिल्ला दिनमा छलफलहरु नियमित हुनु र पर्यटकीय क्षेत्र पहिचान गरी भ्रमणमा जाने अभ्यास सुरु भएको बताए ।
उनले भने, “नेपालगन्ज हिजोका दिनमा ट्रान्जिट मात्र भएकोले अब गन्तव्यको रुपमा विकास गर्न मिडियाको महत्वपूर्ण भूमिका रहन्छ । यसका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजनाले बाँकेका मिडियाकर्मीहरुलाई पर्यटन र फोटो पत्रकारितासम्बन्धी अभिमुखिकरण कार्यकम गरिएको छ ।”
यस अभिमुखिकरण कार्यक्रमले नेपालगन्जको पर्यटकीय सम्भावना उजागर र प्रबर्दधन गर्न टेवा पुग्ने उनको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस्