सरकारी सम्पत्ति निजी प्रयोगमा लगाएको आरोपमा ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक विद्यालय राष्ट्रिय माध्यमिक विद्यालय, कास्कीको भवन निजी बोर्डिङ स्कूललाई भाडामा दिएको भ्रष्टाचार प्रकरणमा आरोपपत्र दायर गरेको छ।

अधिकार प्राप्त उजुरी र अनुसन्धानका क्रममा आयोगले पत्ता लगाएको तथ्य अनुसार, राष्ट्रिय माध्यमिक विद्यालय, पोखरा-१, पुरानो टुंडिखेल, कास्कीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा, वडा नम्बर १ का अध्यक्ष शाहारा प्रधान, सदस्यहरू बरुण विक्रम राणा, सोवनाथ भट्टराई, विष्णुमाया लामिछाने, नारायणप्रसाद चापागाई, अञ्जुली बोर्डिङ्ग स्कूल प्र.लि का संचालक राजु केसी र प्रिन्सिपल सुनिता कुँवर केसीबिच मिलेमतो गरी सरकारी सम्पत्ति निजी प्रयोगमा लगाइएको देखिएको छ।

अनुसन्धानमा विद्यालय व्यवस्थापन समितिले स्थलगत निरीक्षण र प्रतिवेदनको आधारमा करिब ४ रोपनी जग्गा र भवन १२ वर्षका लागि अञ्जुली आवासीय माध्यमिक विद्यालयलाई भाडामा दिने निर्णय गरेको थियो। यस क्रममा सरकारी सम्पत्ति निजी प्रयोगमा लगाई रु. १५ लाख २९ हजार ४०८ असुल गरिएको छ।

अख्तियारले मुख्य प्रतिवादीहरू राम विक्रम राणा, शाहारा प्रधान, बरुण विक्रम राणा, सोवनाथ भट्टराई, विष्णुमाया लामिछाने, नारायणप्रसाद चापागाई, राजु केसी र सुनिता कुँवर केसी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७, १९ र २२ अनुसार सजायको मागसहित आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।