काँक्रेविहार जंगलमा भेटिएका दुई शवको पहिचान खुल्यो


काठमाडौँ । सुर्खेतको काँक्रेविहार जंगलमा सोमबार मृत भेटिएका युवक–युवतीको पहिचान खुलेकाे छ। वीरेन्द्रनगर–९ स्थित जंगलमा झुन्डिएको अवस्थामा फेला परेका दुवैजनाको परिचय परिवारजनले घटनास्थलमै गएर पुष्टि गरेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार मृतक युवती वीरेन्द्रनगर–१०, खजुराकी १६ वर्षीया दीपिका चौधरी र युवक जुम्लाको कनका सुन्दरी गाउँपालिका–७ का १८ वर्षीय नरेश खत्री हुन्। बिहानको करिब ११ः३० बजे घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको नेतृत्वमा टोली पुगेको थियो। डीएसपी मोहनजंग बुढाथोकीका अनुसार युवतीका काका राजु चौधरी र युवककी फुपू गीता खत्रीले दुवैको सनाखत गरेका हुन्।

घटनाबारे सम्भावित कारण, सम्बन्ध, वा बाह्य हस्तक्षेप सम्बन्धी कुनै तथ्य खुलेको छैन। प्रारम्भिक रूपमा आत्महत्याजस्तै देखिए पनि सबै कोणबाट अनुसन्धान गरिने प्रहरीको भनाइ छ। पोस्टमार्टम रिपोर्ट र डिजिटल प्रूफहरूका आधारमा घटनाको वास्तविकता पत्ता लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।