खनियाबासमा अन्तर्राष्ट्रिय धादिङ समाजले दुई दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयाेजना गर्ने


काठमाडाैँ । अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङको खनियाबास–४, दार्खास्थित खनियाबास ग्रामिण अस्पतालमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।

समाजका अनुसार शिविर मङ्सिर २६ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तथा मङ्सिर २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने छ।

शिविरमा जनरल फिजिसियन, स्त्रीरोग विशेषज्ञ, दन्त रोग (डेन्टल) विशेषज्ञ र हड्डी–जोर्नी रोग विशेषज्ञबाट सेवा प्रदान गरिनेछ। कार्यक्रम सञ्चालनमा धादिङ समाज अमेरिका सहकार्य गर्नेछ भने मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ। साथै खनियाबास गाउँपालिका, डेपिन धादिङ तथा स्थानीय स्वयंसेवी समूहहरू सहयोगी संस्था रहनेछन्।

स्वास्थ्य शिविरबारे जानकारी दिँदै अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खनालले ग्रामीण बस्तीका नागरिकलाई घरमै नजिक विशेषज्ञ सेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम ल्याइएको बताए।

त्यस्तै, महासचिव बाबुकाजी भण्डारीले खनियाबास आसपासका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्दै यो पहल ग्रामीण स्वास्थ्य पहुँच विस्तारका लागि महत्वपूर्ण कदम भएको टिप्पणी गरे।