काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनका क्रममा देशभर लुटिएका हातहतियार फिर्ता ल्याउन ‘सेक्युरिटी अपरेसन’ व्यापक रूपमा सञ्चालन भइरहेको जानकारी दिएका छन्।
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बिहीवारको बैठकमा उनले हालसम्म ७२३ थान हतियार बरामद भइसकेको बताए।
उनका अनुसार आन्दोलनकै बेला जेल तोडी भागेका १४ हजार ५५४ कैदीबन्दीमध्ये ९ हजार ६९७ जना फिर्ता भइसकेका छन्। बाँकी ४ हजार ८५७ जनाको खोजीका लागि विशेष अपरेसन निरन्तर जारी रहेको उनले स्पष्ट पारे। त्यस्तै, भदौ २३ र २४ का घटनामा संलग्न ५९५ जनालाई पक्राउ गरिएको र २८३ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको जानकारी उनले समितिलाई दिए।
गृहमन्त्री अर्यालका अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनमा सुरक्षा सुनिश्चित गर्न सेना परिचालनसम्बन्धी प्रस्ताव राष्ट्रिय सुरक्षा परिषद्बाट पारित भइसकेको छ। सातै प्रदेशमा निर्वाचन लक्ष्यित सुरक्षा गोष्ठी सञ्चालन भइरहेको र लुम्बिनी प्रदेशमा गोष्ठी सकिएको उनले बताए। बाँकी प्रदेशहरूमा गोष्ठी पुसभित्र सम्पन्न गर्ने तयारी भइरहेको छ।
सुरक्षा निकायलाई सुदृढ बनाउने उद्देश्यले आवश्यक उपकरण र सवारी साधन खरिदका लागि स्रोत सुनिश्चित गरिएको उनले जानकारी दिए। नेपाल प्रहरीका लागि २६२, सशस्त्र प्रहरीका लागि १९९ र राष्ट्रिय अनुसन्धान विभागका लागि ६ सवारीसाधन खरिद प्रक्रिया अघि बढाइएको छ।
गृहमन्त्री अर्यालले प्रतिनिधि सभा निर्वाचन तोकिएको मितिमा नै सम्पन्न गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउँदै, हराएका हतियार र कैदी फिर्ता ल्याउन सुरक्षा निकायहरूले संयुक्त रूपमा सूचना आदानप्रदान गर्दै समन्वित अपरेसन चलाइरहेको बताए।



प्रतिक्रिया दिनुहोस्