काठमाडाैँ । यस साता सेयरबजार सकरात्मक देखिएको छ । कारोबारको पाँचै दिन सेयरबजारमा हरियाली छाएको छ । मंसिर ७ देखि ११ गतेसम्मको सेयर बजार निरन्तर उकालो लाग्यो।
सामान्य बन्दै निरन्तर उकालाे लागेकाे बजारले लगानीकर्ताकाे मनोविज्ञान र गतिविधिमा सकारात्मक ऊर्जा भरिदिएको सेयरबजारका जानकारहरू बताउँछन्।
प्रारम्भिक गिरावटको दबाब हट्दै बजार क्रमशःसम्हालिँदै गएको उनीहरूकाे बुझाइ छ।
साताको सुरुवातमा नेप्से सूचकमा आएको करेक्सन नै बजार उक्लिने आधार बनेको देखियो। मंसिर ७ गते नेप्से परिसूचक ३९.९२ अंकले उक्लँदा लगानीकर्ताले बजार पुनः बलियो बन्ने संकेत पाएका थिए।
त्यसको अर्को दिन मंसिर २४ मा नेप्से ५०.४४ अंकले उक्लिएको थियो। दुई दिनमै ९० अंकभन्दा बढीको सुधारले बजारमा ‘रिकभरी मोमेन्टम’ स्पष्ट रूपमा देखिएको थियो।
मंसिर ९ मा बजार अझै स्थिर बन्दै ५.३२ अंकले माथि रह्यो। यो वृद्धिले लगानीकर्तालाई केवल अल्पकालीन उछाल नभई क्रमिक सुधार भइरहेछ भन्ने संकेत गरायो। त्यसपछि मंसिर १० मा सूचक ९.६१ अंकले उठ्दा बजारमा कारोबारको गति पनि बढ्यो। ठूलो गिरावटपछि आएको मध्यम वृद्धिले बलियो बन्दै गएको देखियो।
साताकाे काराेबारकाे अन्तिम दिन मंसिर ११ मा नेप्से फेरि १०.४३ अंकले बढेर २,६७६.०३ विन्दुमा पुग्यो। यस दिन कारोबार रकम ६ अर्ब ५९ करोड नाघेको थियो, जसले सक्रियता उच्च रहेको पुष्टि गर्छ। बजारले दिनभर २,६७८.२९ को उच्च विन्दु छोएर तलतिर करेक्सनको दबाब नपुग्ने गरी मजबुत सम्हालिएको देखिन्छ।
साताभरको समग्र गतिविधिले लगानीकर्ता मनोविज्ञान सुदृढ बन्दै गएको संकेत गर्छ। कारोबार रकम, सूचकको स्तर तथा दैनिक सुधारले बजार स्वाभाविक रूपमा स्थिरता खोजिरहेको छ।
विश्लेषकहरूका अनुसार तरलता स्थिति सुधार, बैंकिङ तथा हाइड्रो समूहको स्थिरता र आगामी आर्थिक समाचारप्रति देखिएको आशावादले बजारलाई सकारात्मक मोड दिएको हो।



प्रतिक्रिया दिनुहोस्