एमसिसी अन्तर्गत बन्न लागेको धानखोला–लमही सडक विवादमा,संघर्ष समिति बनाएर स्थानीयवासी विरोधमा


दाङ । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन(एमसिसी)को अनुदानमा सञ्चालित मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) नेपालले लुम्बिनी प्रदेश राजधानी क्षेत्रमै दुइ लेनको मात्र सडक बनाउने तयारी गरेपछि विरोध सुरु भएको छ ।

पूर्वपश्चिम राजमार्गको अन्य सडकखण्डमा ४ लेनको सडक निर्माण भइरहे पनि धानखोलादेखि लमहीसम्म ४० किलोमिटरलाई दुई लेनको मात्रै सडक निर्माण गर्ने गरी एमसिए, नेपालले प्रक्रिया अगाडि बढाएको छ ।

यो सडक खण्डको देउखुरीमा लुम्बिनी प्रदेश राजधानी छ । प्रदेश राजधानीभित्रै जम्मा दुई लेनको सडक बनाउने तयारी भइरहेको छ ।

अहिले पूर्वपश्चिम राजमार्ग दुइ लेनको छ र साघुरो भएका कारण यसलाई एसिएन हाइवेका रुपमा पूर्व झापादेखि कपितलवस्तुको गोरुसिङ्गेसम्म चारलेनको बनाउने प्रक्रिया जारी छ ।

प्रदेश राजधानीभित्रै पर्ने क्षेत्रमा दुइ लेनको मात्रै सडक बनाउन खोजिएपछि देउखुरीका स्थानीयवासी, राजनीतिक दल र विभिन्न संघसंस्थाले दुइ लेनको सडकलाई चार लेनको बनाउन दबाबमूलक अभियान सुरु गरेका छन् ।

अभियानको अगुवाइ गरिरहेका प्रकाश शाहीले भने,“देउखुरी क्षेत्रमै पनि हालको बाटो साँघुरो भई अत्यधिक दुर्घटनहरू हुँदा हाल भालुबाङदेखि लमही क्षेत्रसम्म टाइम कार्ड लागु गरिएको छ । यै राजमार्गको सबै ठाउँमा चार लेन बनाइदैछ । यस्तो महत्वपूर्ण ठाउँमा दुइलेन मात्रै किन निर्माण गर्न लागिएको हो हामीले अनौठो मानेका छौँ । चार लेन सडकन नबन्ने अवस्थासम्म हाम्रो संघर्ष जारी रहन्छ ।”

धानखोला लमही चार लेख सडक निर्माण संघर्ष अभियानले २०८२ मंसिर १० गते मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर ध्यानकर्षण गराएका थिए ।

भेटमा मुख्यमन्त्री आचार्यले समेत चार लेनको सडक आवश्यक रहेको र आफूले पनि पहल गर्ने तर नागरिकहरूको समेत दबाब आवश्यक पर्ने बताएका थिए ।

अभियानकर्मीहरूले विभिन्न राजनीतिक दलका नेता, स्थानीय सकार, प्रदेश सरकार एसिसिए नेपाल लगायतका कार्यालयमा समेत ध्यानकर्षण गराउँदै दबाबमूलक कार्यक्रम गरिरहेका छन् ।

अभियानले एमसिए नेपाल धानखोला लमही रोड आयोजनालाई पनि भटेर ध्यानाकर्षण पत्र बुझाएको छ ।

ध्यानकर्षण पत्रमा मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्न र सम्बोधन नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाउने चेतावनी दिइएको छ । पत्रमा भनिएको छ,“ जनताको जायज माग सम्बोधन नगरी दुई लेन कै बाटो अगाडि बढाइएमा एमसिए नेपाल विरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरिने पनि यसै पत्र मार्फत जानकारी गराउँद छौँ ।”

यस सडक खण्डले छुने राप्ती गाउँपालिका, गढवा गाउँपालिका, लमही नगरपालिकाका प्रमुखलाईसमेत दबाब स्वरूप अभियानले ध्यानकर्षण पत्र बुझाएको छ ।