बिमा प्राधिकरणद्वारा बिमा अभिकर्ताको इजाजतपत्र नवीकरण सम्बन्धी निर्देशन जारी, यस्ता छन् नयाँ व्यवस्था


काठमाडाैँ । नेपाल बिमा प्राधिकरणले जीवन बिमा कम्पनीका अभिकर्ताहरूलाई इजाजतपत्र नवीकरण गर्न नयाँ निर्देशन जारी गरेको छ। प्राधिकरणले सबै इजाजतपत्र प्राप्त अभिकर्ताहरूले बिमा नियमावली, २०८१ र बिमा ऐन, २०७९ अनुसार आवश्यक प्रक्रिया पूरा गरी मात्र इजाजतपत्र नवीकरण गर्न सक्ने व्यवस्था गरेको छ।

निर्देशन अनुसार, जीवन बिमा अभिकर्ताले कम्तीमा एक प्रतिशत बिमालेख नवीकरण भएको प्रमाण पेश गर्नु पर्नेछ। साथै, आइआरएमआइएस प्रणालीमा व्यक्तिगत विवरण अद्यावधिक गरी आवश्यक कागजात अपलोड गर्नुपर्नेछ। इजाजतपत्र नवीकरणका लागि निर्धारित दस्तुर रु १५०० मात्र लाग्नेछ, जसमा रु १००० नवीकरण दस्तुर र रु ५०० नियमन दस्तुर समावेश छ।

बिमा ऐन, २०७९ को व्यवस्था अनुसार इजाजतपत्रको म्याद सकिएको खण्डमा तीन महिनाभित्र मात्र विलम्ब शुल्क रु १००० तिरेर निवेदन पेश गर्न सकिने व्यवस्था गरिएको छ। तीन महिनाभित्र निवेदन पेश नगरेको अवस्थामा अभिकर्ताको इजाजतपत्र स्वतः खारेज हुने प्राधिकरणले जनाएकाे छ ।