कृषि उत्पादन र वातावरणीय सन्तुलनमा माटोको भूमिका अपरिहार्य छः मन्त्री परियार


काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारले विश्व माटो दिवसको अवसरमा माटो स्वास्थ्यको महत्वमाथि जोड दिँदै समग्र कृषि उत्पादन र वातावरणीय सन्तुलनमा माटोको भूमिका अपरिहार्य रहेको बताएका छन्।

मन्त्री परियारका अनुसार सघन खेती, रासायनिक मल र विषादीको अत्यधिक प्रयोग, अव्यवस्थित शहरीकरण, पूर्वाधार निर्माण र औद्योगिकीकरणले माटोको भौतिक, रासायनिक र जैविक स्वास्थ्यमा नकारात्मक असर पारेको छ। यसले उत्पादन र उत्पादकत्वमा कमी ल्याउने नभइ, ग्रामीण र शहरी वातावरणीय सन्तुलनमा समेत चुनौती सिर्जना गरेको उनले बताए।

उनले शहरी र ग्रामीण माटो दुवैको संरक्षण आवश्यक भएको र त्यसका लागि दैनिक जीवनमा बिरुवा रोपण, वर्षातको पानी सोस्ने व्यवस्था, प्लाष्टिक जन्य फोहोर अलग गरेर कम्पोष्टिङ गर्ने जस्ता गतिविधिले माटो स्वास्थ्यमा योगदान पुग्ने बताए।

डा. परियारले यस वर्षको विश्व माटो दिवसको नारा “स्वस्थ माटो, स्वस्थ गाउँशहर” लाई सार्थक बनाउन स्वस्थ कृषि प्रणाली अपनाउनु र शहरमा दिगो जीवनशैली कायम गर्नु आवश्यक रहेको पनि उल्लेख गरे।

मन्त्री परियारले तीनै तहका सरकारको समन्वयमा सञ्चालन भइरहेका घुम्ती माटो शिविर, विषादी प्रयोग सम्बन्धी सचेतनामूलक अभियान र दीगो कृषि प्रवर्द्धन कार्यक्रमलाई आगामी दिनमा थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।

उनले कृषक तथा आम जनसमुदायलाई माटोको महत्वबारे सचेत गराउँदै आफ्नै वरिपरिको माटो व्यवस्थापनका चुनौतीहरू सम्बोधन गर्न प्रेरित गर्ने शुभकामना व्यक्त गरेका छन्।