नेसनल प्याब्सन तनहुँको १३औँ खेलकुद महोत्सव उद्घाटन, बालबालिकाको समग्र विकासमा जोड


काठमाडौँ । नेसनल प्याब्सन तनहुँले १३औँ खेलकुद महोत्सव आज भव्य समारोहका बिच उद्घाटन गरेको छ। उक्त महोत्सव नेसनल प्याब्सन तनहुँका अध्यक्ष बिश्वेश्वर खनालको सभापतित्वमा सञ्चालन भएको थियो।

उद्घाटन समारोहमा नेसनल प्याब्सनका पूर्व अध्यक्ष ऋतुराज सापकोटा मुख्य अतिथि थिए भने महासचिव प्रताप थापाले विशेष अतिथिको रूपमा उपस्थित रहेका थिए ।

अध्यक्ष खनालले खेलकुद बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासका लागि आवश्यक रहेकाे बताए । उनले भने, “यस महोत्सवले उनीहरूमा अनुशासन, सहकार्य र नेतृत्व क्षमता विकास गर्ने अवसर प्रदान गर्नेछ।”

पूर्व अध्यक्ष सापकोटाले खेलकुद र विद्यार्थी विकासबिचको सम्बन्धबारे चर्चा गर्दै बालबालिकाको समग्र विकासमा खेलकुदले अतुलनीय योगदान पुर्‍याउने बताए । उनले भने, “स्वस्थ शरीर र मानसिकता विद्यार्थीहरूलाई जीवनभरका चुनौती सामना गर्न सशक्त बनाउँछ।”

महासचिव थापाले नेशनल प्याब्सनको मूल मन्त्र ‘चाइल्ड फस्ट’ लाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए । उनले भने, “हामी बालबालिकाको हितलाई पहिलो प्राथमिकतामा राख्दै खेलकुद र अन्य विकासात्मक गतिविधिहरूलाई प्रवर्द्धन गर्दै आएको छौँ।”

दुई दिने महोत्सवमा विभिन्न खेलकुद प्रतियोगिता, प्रदर्शन तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएका छन्।