सिन्धुलीकी देवकोटाले रचिन् इतिहास, अपाङ्गता हुँदाहुँदै बनिन् बन्जी जम्प गर्ने नेपालकै पहिलो महिला


काठमाडाैँ । । शारीरिक अपाङ्गता (स्पाइनल बाइफिडा) हुँदाहुँदै पनि सिन्धुलीकी दीपा देवकोटाले नेपालमै पहिलोपटक बन्जी जम्प गरेर नयाँ इतिहास रचेकी छन्।

आफ्नो जन्मदिनको अवसर पारेर उनले गरेको यो साहसिक कार्यले ‘अपाङ्गता बाधा होइन, अवस्था मात्र हो’ भन्ने सन्देशलाई व्यवहारमै प्रमाणित गरेको छ।

एक सक्रिय अपाङ्गता अधिकारकर्मीसमेत रहेकी देवकोटाले साहसिक खेलकुदमा सहभागी हुँदै समाजमा व्याप्त नकारात्मक सोचलाई चुनौती दिएकी छन्। अपाङ्गता भएका व्यक्तिहरू साहसिक खेलकुद, पर्यटन तथा समाजका हरेक गतिविधिमा समान रूपमा सक्षम छन् भन्ने कुरा उनले आफ्नो साहसिक कदममार्फत स्पष्ट पारेकी छन्।

स्पाइनल बाइफिडा जस्तो शारीरिक अपाङ्गता हुँदाहुँदै पनि बन्जी जम्प सफलतापूर्वक पूरा गरेकी देवकोटाले अपाङ्गता कमजोरी नभई आत्मबल, अवसर र सकारात्मक सोच भएमा कुनै पनि क्षेत्रमा अघि बढ्न सकिने बताइन्।

उनले भनिन्, “अपाङ्गता कमजोरी होइन। आत्मविश्वास र अवसर पाएमा हामी पनि सबै क्षेत्रमा अघि बढ्न सक्छौँ। मेरो यो प्रयासले अन्य अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइहरूलाई प्रेरणा दिने विश्वास लिएको छु।”