स्याङ्जामा अवैध सालको काठसहित एक व्यक्ति पक्राउ, मिनी ट्रक नियन्त्रणमा


काठमाडाैँ । अवैध रूपमा साल जातको काठ ओसार–पसार गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक जनालाई पक्राउ गरेको छ। प्राप्त सूचनाका आधारमा खटिएको विशेष अप्रेसन टोलीले आज बिहान करिब ५ः३० बजे स्याङ्जाको फेदिखोला गाउँपालिका–०२ अन्तर्गत सिद्धार्थ राजमार्गको वडा नम्बर सर्केटारी क्षेत्रमा चेकजाँचका क्रममा काठ बरामद गरेको हो।

प्रहरीका अनुसार सेतिदोभानबाट पोखरातर्फ जाँदै गरेको एक मिनी ट्रकमा साल जातको काठबाट बनाइएका तयारी ढोका तथा झ्याल अवैध रूपमा ओसार–पसार गरिएको पाइएपछि ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा पर्ने व्यक्ति स्याङ्जा जिल्ला आँधिखोला गाउँपालिका–५ निवासी ३५ वर्षीय विज्ञान नेपाली रहेका छन्।

बरामद काठमा ढोकाको चौकोस चार थान र झ्यालको चौकोस चार थान रहेका छन्। बरामद गरिएको सालको काठको परिमाण जम्मा १६.८ क्युबिक फिट रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिइएको काठ र व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, स्याङ्जामा बुझाइएको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।