उच्च मनोबलका साथ लगानी बढाउन निजी क्षेत्रलाई गभर्नर पौडेलको आग्रह


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले वर्तमान आर्थिक अवस्थालाई लिएर निराश नहुन निजी क्षेत्रलाई आग्रह गर्दै उच्च मनोबलका साथ लगानी र व्यवसाय विस्तारतर्फ अघि बढ्न आह्वान गरेका छन् ।

गोरखापत्र संस्थानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले निजी क्षेत्रले विगतमा धेरै कठिन समय पार गर्दै यहाँसम्म आइपुगेको स्मरण गराउँदै अब पनि साहसका साथ अघि बढ्नुपर्ने बताएका हुन्।

उनका अनुसार अर्थतन्त्रलाई स्थिर र आशावादी बनाइराख्ने केही बलिया आधारहरू छन्, जसमा आवधिक र स्वच्छ निर्वाचन प्रमुख रहेको छ । कम स्रोत भएका व्यक्तिहरूले समेत स्वतन्त्र रूपमा चुनाव लडेर जित्न सक्नु लोकतन्त्रको सकारात्मक पक्ष भएको उनले उल्लेख गरे। प्रत्येक निर्वाचनमा परम्परागत दल बाहिरबाट समेत प्रतिनिधि निर्वाचित हुनु मुलुक अघि बढिरहेको संकेत भएको उनको भनाइ छ ।

गभर्नर पौडेलले उत्पादनशील क्षेत्रमा लगानी बढाउन विशेष जोड दिए। उर्जा र यातायातजस्ता पूर्वाधार क्षेत्रमा ठूलो लगानी गर्न आँट गर्नुपर्ने बेला आएको उल्लेख गर्दै बैंकिङ क्षेत्रबाट आवश्यक सहयोग गर्न नेपाल राष्ट्र बैंक तयार रहेको स्पष्ट पारे । निजी क्षेत्रसँग बोण्ड जारी गर्ने विषयमा निरन्तर छलफल र सहमति खोज्ने प्रक्रिया अघि बढिरहेको जानकारी पनि उनले दिए ।

उर्जा क्षेत्रमा उत्पादन, प्रसारण र वितरणमा थप लगानीको आवश्यकता औँल्याउँदै यातायात पूर्वाधारमा पनि ठूलो सम्भावना रहेको गभर्नर पौडेलको भनाइ थियो । हाल उपलब्ध सम्भावनाको सानो अंश मात्र प्रयोग भएको उल्लेख गर्दै उहाँले यी क्षेत्रमा लगानी बढाउन राष्ट्र बैंकले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा गभर्नर पौडेलले देशले विगतमा आन्तरिक द्वन्द्व, राजदरबार हत्याकाण्ड, भूकम्पलगायत धेरै आरोह–अवरोह भोगिसकेको उल्लेख गर्दै ती कठिन परिस्थितिबाट पनि देश अघि बढ्दै आएको बताए । यस्ता अनुभवले वर्तमान अवस्थालाई आत्मविश्वासका साथ सामना गर्न सकिने आधार तयार गरेको उनको धारणा थियो ।

गभर्नर पौडेलले सकारात्मक आधारलाई आत्मसात् गर्दै निजी क्षेत्रले लगानी बढाए अर्थतन्त्र थप गतिशील बन्ने विश्वास व्यक्त गरे ।