सीएनआई र निफ्राबिच औद्योगिक क्षेत्र निर्माण र सञ्चालनमा समझदारी


काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआइ) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)बिच औद्योगिक क्षेत्र निर्माण र सञ्चालनका लागि समझदारी भएको छ।

सरकारले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा औद्योगिक क्षेत्र निर्माण तथा संचालन गर्ने घोषणा गरेसँगै दुई पक्षबिच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक ई. पदम ओलीको उपस्थितिमा सीएनआईको तर्फबाट महानिर्देशक डा. घनश्याम ओझा र निफ्राको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सूर्यबहादुर तामाङले हस्ताक्षर गरेका हुन्।

समझदारीअनुसार चितवनको शक्तिखोर, हेटौडाको मयूरधाप र रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेर निर्माण र संचालनका लागि सहकार्य गरिनेछ। यससँगै सीएनआई र निफ्राले सरकारले सार्वजनिक–निजी साझेदारी अवधारणामा निजी क्षेत्रलाई औद्योगिक क्षेत्र निर्माण तथा संचालन गर्न अनुमति दिन संयुक्त प्रस्ताव अघि बढाउने योजना बनाएका छन्।

सो अवसरमा सीएनआई अध्यक्ष वीरेन्द्रराज पाण्डेले औद्योगिक क्षेत्र निर्माण र सञ्चालनका लागि निफ्रासँग समझदारी गरी सुरुवाती काम अघि बढाएको बताए । निफ्राका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले यो समझदारीलाई प्रस्थान विन्दुको रूपमा लिइ सार्वजनिक–निजी साझेदारी अवधारणालाई अगाडि बढाउन सकिने बताए ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक ई। पदम ओलीले सरकारले पीपीपी मोडेलमा निजी क्षेत्रलाई पनि औद्योगिक क्षेत्र सञ्चालन गर्ने अवसर दिएकोले यो समझदारीले सकारात्मक सन्देश दिएको बताए ।

सम्झौता कार्यक्रममा सीएनआईका पूर्व अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्ष गोकुल भण्डारी, चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे, वागमती उद्योग परिसंघ र चितवन उद्योग संघका पूर्व अध्यक्ष भेषराज दुवाडी, सीएनआई उद्योग समिति सभापति राहुल अग्रवाल, उपसभापति गुरु अधिकारी, पूर्वाधार समिति सभापति रामकृष्ण खतिवडा, निफ्राका उपप्रमुख लगानी अधिकृत रबिन श्रेष्ठ लगायत सहभागी थिए ।