एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली


काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् ।

शुक्रवार ११ औ महाधिवेशनबाट निर्वाचित पार्टी केन्द्रिय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सो टिप्पणी गरेका हुन् । अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक, साच्चो कम्युनिष्ट पार्टी भएको जिकिर गर्दै त्यसका हरेक सदस्यहरूले कडा अनशासनमा रहेर काम गर्नुपर्ने बताए ।

उनले पार्टीको सामुहिक प्रयासबाट निकालिएका नीति विपरित नचल्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।अध्यक्ष ओलीले पार्टीको बैठकमा मोबाइल चलाउने काम नगर्न पनि नेता, कार्यकर्तालाई निर्देश गरे । 

“एमाले जस्तो साँचो कम्युनिष्ट पार्टी । यो झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरण, नक्कली अर्कै कामवाला पार्टी होइन । यस्तो पार्टीको साँच्चै दृढ अनुशासन चाहिन्छ । म कमरेडहरुलाई भन्न चाहन्छु–हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो । त्यसकारण हरेक व्यक्ति स्वतन्त्र छ । हरेक व्यक्ति आफ्नो अध्ययन, आफ्नो चिन्तन, आफना विचार, आफ्ना निष्कर्षहरू निकाल्न पाउँछ,”उनले भने ।

अध्यक्ष ओलीले राष्ट्रिय स्वार्थ विपरितका गतिविधि पार्टीका कुनैपनि समस्यले गरे सह्य नहुने समेत बताए ।