उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए


काठमाडाैँ । सुदूरपश्चिममा रहेको दुर्गम अपी हिमाल गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको छ । ‘नाम सुनेको तर पुग्न नसकेको’ परिचय बदल्दै यो क्षेत्र अहिले शाहसिक पदयात्री र प्रकृति प्रेमीहरूको प्रमुख रोजाइमा पर्न थालेको छ । 

स्थानीय तहमा निर्वाचित नेतृत्वले योजनावद्ध विकासमा जोड दिएपछि आर्थिक समृद्धिको अन्य कुनै आधार नभएको यस गाउँपालिकाले अपी हिमाललाई सुदूरपश्चिमको उत्कृष्ट पर्यटकीय उद्यम र नेपालकै उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य लिएको थियो ।

योजनावद्ध पूर्वाधार विकास, ट्रेकिङ रुट विस्तार र आक्रामक प्रवद्र्धनका कारण अपी हिमाल बेसक्याम्प क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको हो । अपी गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले अपी हिमाललाई सुदूरपश्चिमकै उत्कृष्ट पर्यटकीय उद्यम र राष्ट्रिय स्तरको गन्तव्य बनाउने लक्ष्यसहित काम भइरहेको बताए ।

अध्यक्ष बोहराकाअनुसार नेपाल पर्यटन बोर्ड र संयुक्तराष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सहयोगमा गाउँपालिकाले अहिले  पर्यटन व्यवसायीलाई विभिन्न किसिमका तालिम सञ्चालन गरेको छ । त्यसैगरी पुर्वाधार विस्तारमा पनि काम भइरहेको उनले जानकारी दिए । 

उनले भने, “अपी हिमाल गाउँपालिका नेपालकै सुदूरपश्चिममा रहेको दुर्गम गाउँपालिका हो । यो गाउँपालिकामा पर्यटन बाहेक आर्थिक समृद्धिको कुनै आधार छैन । त्यसैले हामीले गाउँपालिकामा निर्वाचित भइसकेपछि अपी हिमाललाई सुन्दर, समृद्ध र विकसित अपी हिमाल बनाउन केही योजनावद्ध विकास गर्नुपर्छ भन्ने उद्देश्यले काम अगाडि बढायौँ र त्यो आवधिक योजनामामा समावेश ग¥यौं ।”

“अपी हिमालको बेसक्याम्पसम्म पुग्न पर्यटकीय पूर्वाधारहरुमा लगानी ग¥यौं । टुरिजम बोर्ड, प्रदेश सरकार र स्थानीय सरकार मिलेर बेसक्याम्पसम्मको ट्रेकिङ ट्रेलहरु बनाएका छौँ । ती ट्रेलमा टि–हाउस, गेस्ट हाउस र होमस्टे बनाएका छौँ,” उनले भने, “ट्रेकिङ गाइड तालिम पनि दिएका छौँ । पछिल्लो समय अपी हिमाल गाउँपालिकाको नाम सुनिने भएको छ । अहिले देश विदेशका सबै पर्यटकहरु,जो ट्रयाकिङमा रुचि राख्नुहुन्छ र उहाँहरुको रुचीको विषय अपि बनेको छ ।”

गत आर्थिक वर्षमा मात्रै करिब ५ हजार आन्तरिक तथा वाह्य पर्यटकले अपी हिमाल र बेसक्याम्पको भ्रमण गरेका छन् । पर्यटकको चहलपहल बढेपछि स्थानीय स्तरमा झन्डै ४ देखि ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ ।

यसबाट होमस्टे सञ्चालक, ट्रेकिङ गाइड, होटल व्यवसायी र स्थानीय किसानहरू प्रत्यक्ष लाभान्वित भएका छन् । विशेषगरी स्थानीय रैथाने उत्पादनको माग बढेसँगै गाउँमै रोजगारी र आम्दानीका स्रोतहरू सिर्जना भएका छन् ।

विभिन्न स्थानमा टी–हाउस, गेस्ट हाउस र ९ वटा होमस्टेको व्यवस्था गरिएको छ । स्थानीयलाई ट्रेकिङ गाइड, बेकरी र कफी बनाउने तालिम प्रदान गरिएको छ । यही सक्रियताका कारण नेपाल सरकारले छोटो समयमा पर्यटन विकासमा योगदान पु¥याएको भन्दै अपी हिमाल गाउँपालिकालाई सम्मान समेत गरिसकेको छ । पर्यटकको संख्या बढेसँगै स्थानीयको आम्दानीमा वृद्धि भएको छ ।