भेनेजुएलासँगको तनाव : तेस्रो तेल ट्याङ्कर नियन्त्रणको प्रयासमा अमेरिका


काठमाडौँ । अमेरिकाले भेनेजुएलाको नजिक अन्तर्राष्ट्रिय जल क्षेत्रमा अर्को तेल ट्याङ्करको खोजी गरिरहेको छ ।

दुइ देशबिच तनाब बढिरहेका बेला अमेरिकाले भेनेजुयलाको दुइओटा कच्च तेल बोकेका जहाज नियन्त्रणमा लिइसकेको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई हटाउन अमेरिकाले दबाब बढाउन तेल ट्याङ्कर नियन्त्रणमा लिइरहेको छ ।

अलजजिराका अनुसार तेल ट्याङ्कर नियन्त्रण गर्ने गतिविधि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेश दिएको नाकाबन्दी अभियानको हिस्सा हो।

एक अमेरिकी अधिकारीका अनुसार अमेरिकी तटरक्षक सक्रिय रूपमा तेल ट्याङ्करको खोजीमा छन् ।

भेनेजुयलाले भने अमेरिकी तटरक्षकलाई झुक्याउन झुटो झण्डा फहराउने गरेको छ । अमेरिकाले कारबाहीको स्थान वा खोजी भइरहेको जहाजको नाम भने खुलाएका छैनन् ।

ब्रिटिस समुद्री जोखिम व्यवस्थापन समूह भ्यानगार्डले अमेरिकाद्वारा नियन्त्रणमा लिन खोजिएको जहाजलाई ‘बेला १’ भनेर पहिचान गरेको छ ।

यो ठुलो क्रुड तेल बोक्ने जहाज हो । यो जहाज गत वर्ष अमेरिकी ट्रेजरी विभागको प्रतिबन्ध सूचीमा राखिएको थियो । विभागले यो जहाजको सम्बन्ध इरानसँग भएको आरोप लगाएको थियो । ट्याङ्कर ट्रर्याकर्स डट कमका अनुसार आइतबार भेनेजुएलाको नजिक पुग्दा ‘बेला १’ खाली थियो ।

रायटर्सले भेनेजुएलाको सरकारी तेल कम्पनी पिडिभिएसको आन्तरिक कागजात उद्धृत गर्दै यस जहाजले २०२१ मा भेनेजुएलाको तेल चीन पुर्‍याउन परिवहन सुविधा लिएको थियो ।