काठमाडौँ उपत्यकाका ७ खाद्य व्यवसायमा विभागकाे अनुगमन, सरसफाइ र अनुमतिपत्रमा कैफियत


काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकाभित्र सञ्चालित खाद्य व्यवसायहरूमा अनुगमन गरेको छ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गत पुस ४ ७ गते गरी दुई चरणमा अनुगमन गरी कैफियत देखिएका व्यवसायलाई सुधारात्मक निर्देशन दिएको हो।

विभागका अनुसार पहिलो चरणमा काठमाडौँ महानगरपालिका र टोखा नगरपालिकाभित्र सञ्चालित पाँच वटा खाद्य व्यवसायको निरीक्षण गरिएको थियो।

अनुगमनका क्रममा केही रेष्टुरेन्ट तथा फुड सेन्टरमा सरसफाइ अवस्था सामान्य देखिए पनि फ्रिजरमा खाद्य वस्तु नछोपी तथा अव्यवस्थित रूपमा भण्डारण गरिएको, फोहोर फाल्ने डस्टबिन खुल्ला राखिएको, कामदारहरूको व्यक्तिगत सरसफाइ सन्तोषजनक नरहेको, किचेनमा खाना पकाउने र भाँडा सफा गर्ने स्थान एउटै रहेको तथा किचेनको झ्यालमा जाली नलगाइएको जस्ता कमजोरी भेटिएको विभागले जनाएको छ।

पोखरेली लुम्बिनी तन्दुरी एण्ड रेष्टुरेन्ट, फ्रेस टप क्वालिटी मःम एण्ड फास्ट फुड सेन्टर, मिराकल रेष्टुरेन्ट एण्ड क्याफे, मड्का बिर्यानी प्रा.लि. तथा लड्डु गोपाल फुड्स प्रा.लि.मा गरिएको अनुगमनका क्रममा कतिपय व्यवसायमा तयारी खाद्य वस्तुहरूमा कृत्रिम खाद्य रङ प्रयोग गर्न सक्ने जोखिम देखिएको भन्दै विभागले त्यस्तो रङ प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको छ। साथै, सबै व्यवसायलाई उल्लेखित कैफियत तत्काल सुधार गरी खाद्य स्वच्छता कायम गर्न भनिएको छ।

लड्डु गोपाल फुड्स प्रा.लि.मा खाद्य अनुमतिपत्र नभएको, पेस्ट कन्ट्रोलको व्यवस्था नगरेको तथा भण्डारण अव्यवस्थित रहेको पाइएपछि विभागले तीन दिनभित्र विभागमा उपस्थित भई खाद्य अनुमतिपत्रका लागि आवेदन दिई प्रमाण पेश गर्न निर्देशन दिएको छ।

त्यसैगरी दोस्रो चरणमा ७ गते काठमाडौँ महानगरपालिका–३ मा सञ्चालित दुई वटा खाद्य व्यवसायमा अनुगमन गरिएको थियो। कान्ति बाल अस्पताल परिसरमा सञ्चालित चितवन होटल एण्ड रेष्टुरेन्ट र कान्ति मार्गस्थित लुम्बिनी तन्दुरी भोजनालय एण्ड खाजा घरमा गरिएको अनुगमनमा किचेनको झ्यालमा जाली नरहेको, तयारी खाद्य वस्तु नछोपी राखिएको, डस्टबिन खुल्ला अवस्थामा रहेको, पकाउने र भाँडा धुने स्थान एउटै रहेको तथा सरसफाइ सन्तोषजनक नरहेको जस्ता कमजोरी देखिएका छन्।

अनुगमनका क्रममा चितवन होटल एण्ड रेष्टुरेन्टमा प्रयोग भइरहेको फ्राइङ तेलको टीपीएम परीक्षण गर्दा १६.५ प्रतिशत पाइएको विभागले जनाएको छ। दुवै व्यवसायलाई नियमित सरसफाइ गरी अभिलेख राख्न, खाद्य अनुमतिपत्र प्राप्त उद्योगबाट उत्पादित तथा पूर्ण लेबल विवरण भएको खाद्य पदार्थ मात्र प्रयोग तथा बिक्री वितरण गर्न र खाद्य स्वच्छता कायम गरी सञ्चालन गर्न निर्देशन दिइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै यस्ता अनुगमनलाई निरन्तरता दिइने बताइन्।

उनले व्यवसायीहरूलाई कानुनी मापदण्डअनुसार स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य पदार्थको उत्पादन तथा बिक्री वितरण गर्न आग्रह पनि गरेकी छन्।