काठमाडौँ । कोदोजन्य बाली प्रवर्धनमा कलम चलाउँदै आएका पाँच जना कृषि पत्रकारलाई सम्मान गरिएको छ ।
सोमबार सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले प्रमाणपत्र, नगद पुरस्कार र दोसल्ला ओढाएर पत्रकारहरूलाई सम्मान गरेका हुन्।
अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) र राष्ट्रिय कृषक समूह महासंघको संयुक्त आयोजनामा राष्ट्रिय कोदो दिवसको अवसर पारेर ‘कोदो समाचार लेखन पुरस्कार–२०८२’ अन्तर्गत विभिन्न तीन विधामा पत्रकारहरूलाई सम्मान गरिएको हो ।
जसअनुसार कर्णालीमिसन डटकमका संवाददाता सागर परियारले १५ हजार रुपैयाँसहित कोदो समाचार लेखन सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरेका हुन् । जुम्ला र कर्णाली प्रदेश केन्द्र बनाएर पत्रकारिता गर्दै आएका परियारलाई कोदोजन्य बाली प्रवर्धनमा पुर्याएको योगदानका लागि सम्मान गरिएको हो ।
यस्तै, बिजमाण्डू डटकमकी संवाददाता सरला सुवेदी र कारोबार दैनिककी संवाददाता कौशिला कुँवरलाई जनही १०–१० हजार रुपैयाँसहित कोदो समाचार लेखन उत्कृष्ट पुरस्कार प्रदान गरिएको छ । उनीहरूले कोदोको उत्पादन, बजार र आर्थिक महत्वलाई केन्द्रमा राखेर निरन्तर समाचार लेखन गरेको आयोजकले जनाएको छ ।
कोदो समाचार लेखन प्रोत्साहन पुरस्कारतर्फ नेपालखबर डटकमका कर्णाली संवाददाता दिनेश कुमार बुढा र डडेल्धुराको रेडियो अमरगढीकी कार्यक्रम संयोजक भावना पौडेललाई जनही पाँच हजार रुपैयाँसहित सम्मान गरिएको छ । उनीहरू सुर्खेत, कर्णाली र सुदूरपश्चिम क्षेत्रमा रहेर कृषि र किसानका मुद्दामा पत्रकारिता गर्दै आएका छन् ।
कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. परियारले पोषणयुक्त कोदोजन्य बाली प्रवर्धनका लागि कोदो दिवस मनाइनु सकारात्मक पहल भएको बताए । कृषि पत्रकारलाई सम्मान गर्ने कार्यक्रमले रैथाने बालीको महत्व स्थापित गर्न सहयोग पुर्याउने उनको भनाइ थियो । सरकारले कोदोजन्य बालीलाई प्राथमिकतामा राख्दै नीतिगत तथा कार्यक्रमगत रूपमा प्रवर्धन गर्ने तयारी गरिरहेको मन्त्री परियारले जानकारी दिए ।
अनाजका अध्यक्ष किरण आचार्यले कोदोजन्य बाली केवल खाद्य सुरक्षाको विषय मात्र नभई संस्कृति, स्वास्थ्य र साना किसानको जीविकासँग जोडिएको बाली भएको बताए । कोदोका विषयमा कलम चलाउने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कारको सुरुआत गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे। कृषि पत्रकारितामार्फत रैथाने बालीप्रति नीतिनिर्माता र आम जनताको ध्यानाकर्षण गराउनु अनाजको मुख्य लक्ष्य रहेको उनको भनाइ थियो ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले आगामी वर्षदेखि मन्त्रालयको तर्फबाट पनि कृषि पत्रकारलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे । कृषि क्षेत्रको विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले तथ्यमा आधारित र अनुसन्धानमुखी कृषि पत्रकारितालाई मन्त्रालयले प्रोत्साहन गर्ने बताए।
अनाजको पहलमा गत वर्षदेखि कोदोजन्य बालीमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्न थालिएको हो । गत वर्ष पनि छ जना पत्रकारलाई कोदो समाचार लेखन पुरस्कार प्रदान गरिएको थियो । त्यतिबेला हिमालय टाइम्स दैनिकका वरिष्ठ संवाददाता लेखनाथ पोखरेल, अन्नपूर्णपोष्ट दैनिककी वरिष्ठ संवाददाता ममता थापा, मदन पौड्याल, आर्थिक अभियान दैनिकका संवाददाता प्रशान्त खड्का, टक्सारन्युज डटकमका संवाददाता रबि थापा र रातोपाटी डटकमकी संवाददाता सरिता थारु सम्मानित भएका थिए ।
यसअघि अनौपचारिक रूपमा मनाइँदै आएको कोदो दिवस यस वर्षदेखि औपचारिक र राष्ट्रिय रूपमा मनाउन थालिएको हो । अनाज र राष्ट्रिय कृषक समूह महासंघको संयुक्त आयोजनामा २०७७ सालदेखि साउन १५ लाई सांकेतिक रूपमा कोदो दिवस मनाइँदै आएको थियो । यस वर्ष भने सरकारले अपनत्व लिँदै साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा घोषणा गरेको छ । अब प्रत्येक वर्ष साउन १६ गते कोदो दिवस मनाइने भएको छ ।
राष्ट्रिय कृषक समूह महासंघ रैथाने उत्पादनको प्रवर्धन र साना किसानको अधिकारका लागि काम गर्ने राष्ट्रिय सञ्जाल हो भने अनाज कृषि सञ्चार प्रवर्धनमा सक्रिय सञ्चारकर्मीहरूको साझा संस्था हो । कार्यक्रममा सम्मानित पत्रकारहरूले यस्ता सम्मानले कृषि पत्रकारितामा थप जिम्मेवारी र ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्