सिन्धुलीको मधुटारका किराना पसलमा अनुगमन, म्याद सकिएका १९ हजार बराबरका खाद्य पदार्थ नष्ट


काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीको नेतृत्वमा वडा कार्यालय तथा उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीको सहभागितामा संयुक्त अनुगमन टोलीले कमलामाई नगरपालिका वडा नम्बर ५ अन्तर्गत मधुटार क्षेत्रका खाद्य पदार्थ बिक्री–वितरण गर्ने किराना पसलहरूको अनुगमन तथा निरीक्षण गरेको छ।

अनुगमनका क्रममा उपभोग्य म्याद सकिएका करिब १९ हजार रुपैयाँ बराबरका विभिन्न खाद्य तथा पेय पदार्थ फेला परेपछि ती सामग्री नष्ट गरिएको डिभिजन कार्यालयले जनाएको छ।

निरीक्षणका क्रममा केही पसलमा म्याद गुज्रिएका खाद्य वस्तु बिक्री स्थलमै राखिएको, लेबल विवरण अपूर्ण भएका सामग्री तथा खाद्य र अखाद्य पदार्थ एउटै स्थानमा राखिएको पाइएपछि व्यवसायीहरूलाई आवश्यक निर्देशन दिइएको थियो।

संयुक्त अनुगमन टोलीले खाद्य व्यवसायीहरूलाई खाद्य पदार्थ खरिद गर्दा पूर्ण लेबल विवरण हेरेर मात्र खरिद तथा बिक्री गर्न, म्याद सकिएका खाद्य वस्तु बिक्री कक्षमा नराख्न र त्यसका लागि छुट्टै कक्षको व्यवस्था गरी समयमै फिर्ता वा नष्ट गर्न निर्देशन दिएको छ। साथै खाद्य पदार्थ र अखाद्य पदार्थ अलग–अलग राखी उपभोक्ताको स्वास्थ्यमा असर नपर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ।