अनाधिकृत तथ्यांक बढ्दै, डिजिटल र एआई प्रयोग गरेर भए पनि सही तथ्यांक संकलन गर्नुपर्नेमा जोड


काठमाडाैँ । पछिल्लो समय मुलुकमा अनाधिकृत रुपमा तथ्यांक संकलन गर्ने र बाहिर ल्याउने क्रम बढेर गएको छ ।

विज्ञहरुकाअनुसार त्यसले जनमानसमा भ्रम छर्नेदेखि सरकारले उत्पादन गरिरहेका तथ्यांकहरुलाई चुनौती दिएको भन्दै अब ति चुनौतीहरुलाई चिरेर राष्ट्रिय तथ्यांक कार्यालय अघि बढ्नुपर्ने देखिएको छ । 

तथ्यांक दिवस २०८२ का अवसरमा राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार आयोजना गरेको कार्यक्रममा आधिकारिक तथ्यांक प्रणालीमा देखिएका चुनौती र सुधारका उपायहरुलाई विज्ञहरुले देखाएका छन् ।

कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख एवं तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले आधिकारिक तथ्यांकभन्दा बाहिरका तथ्यांक उत्पादन र प्रयोग बढ्दै गएको बताए  ।

अनुमति नलिई विभिन्न निकायबाट तथ्यांक उत्पादन हुने, एकरुपता नहुने र अन्तर्राष्ट्रिय फ्लो नमिल्ने समस्या रहेको उनको भनाइ थियो ।

सामाजिक सञ्जालबाट अनाधिकृत र झुटो सूचना फैलिनु, तथ्यांक जनशक्तिको पलायन, प्रदेश तथा स्थानीय तहमा तथ्यांक प्रणाली स्थापना ढिलाइ हुनु पनि प्रमुख चुनौती रहेको उहाँले उल्लेख गरे ।

लामिछानेले डिजिटल युगमा घरघरमा गएर तथ्यांक संकलन गर्ने अभ्यास कमजोर हुँदै गएको भन्दै वैकल्पिक स्रोतको अधिकतम प्रयोग, डिजिटल प्रणाली, नवीन प्रविधि र कृत्रिम बौद्धिकताको उपयोग आवश्यक रहेको बताए ।

साथै तथ्यांक क्यालेन्डर विकास, तालिम तथा अनुसन्धान केन्द्र स्थापना र अनुभवी विज्ञको मंच गठन गर्नुपर्ने सुझाव आफ्नो कार्यपत्रमा पेश गरे ।

लामिछानेले भने, “आधिकारीक तथ्यांक भन्दा बाहिरका तथ्यांक प्रवेश हुन थालेको छ । अनुमति नलिइ धेरै ठाउँबाट तथ्यांक उत्पादन हुने, एकरुपता नहुने, अन्तर्राष्ट्रिय फ्लो नहुने, आफ्नो तरिकाले गर्ने र अन्तिममा प्रकाशन गर्ने बेला प्रमाणिकरण गर्न आउने बढेको छ । अन्तर्राष्ट्रिय स्तरबाट पनि कतिपय इन्डेक्सहरु आफ्नो तरिकाले निकालिदिने गरिएको छ । अहिले धेरै सूचकहरु आफ्नो तरिकाले आउने गरेको छ । त्यो आधिकारिक तथ्यांक होइन । तथ्यांक उत्पादनमा वैकल्पिक स्रोतको विकल्प खुला छ ।”

राष्ट्रिय योजना आयोगका सहसचिव हरिशरण पुडासैनीले तथ्यांक संकलनदेखि विश्लेषणसम्मका सबै प्रक्रिया चुनौतीपूर्ण रहेको बताए । उनकाअनुसार कार्यालयले निकालेका तथ्यांकलाई मिडिया र जनताले कसरी लिन्छन् भन्ने नै ठूलो चुनौती हो ।

ब्यूरोक्रेसीभित्रकै मतभेदले तथ्यांकको विश्वसनीयतामाथि प्रश्न उठ्ने गरेको भन्दै राष्ट्रको आवश्यकता र नीति निर्माणमा पर्ने प्रभावलाई केन्द्रमा राखेर तथ्यांक उत्पादन गर्नुपर्ने उनको धारणा थियो ।

सहसचिव पुडासैनीले भने, “तथ्यांक संकलनदेखि उत्पादन गरेर विश्लेषण गर्नेसम्मका कार्यहरु चुनौतीपूर्ण छ । हामीले निकालेका तथ्यांकहरुलाई मिडिया जनताले कसरी लिन्छ भन्ने महत्वपूर्ण हो । यो सबैभन्दा ठूलो चुनौतीको विषय हो । हामीले निकालेका तथ्यांकमा ब्यूरोक्रेसी भित्रमै केही मतभेद हुँदो रहेछ । यसले विश्वसनियता माथि प्रश्न उठाउछ । हामीले तथ्यांक संकलन गर्दा पहिला हामी स्पष्ट हुनुपर्छ । वास्तवमा कसले के चाहन्छ भन्दा पनि राष्ट्रले के चाहन्छ, राष्ट्रलाई के आवश्यकता के हो र त्यो तथ्यांक सर्कुलर गरेपछि हामीले के प्राप्त गछौँ । र सरकारका नीति निर्माणमा के असर गर्छ, त्यसमा हामीले ख्याल गर्न जरुरी छ ।”

कार्यक्रममा नेपाल सरकारका पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालले योजना निर्माणका लागि जनशक्ति सम्बन्धी आधिकारिक तथ्यांक अत्यावश्यक रहेको बताए । उनकाअनुसार अहिले डाक्टर अभाव र नर्सको ओभर उत्पादन भएको भन्ने कुराहरु आइरहेका छन् । खास के हो त भन्ने सम्बन्धमा सर्भे गरेर तथ्यांक कार्यालयले बाहिर ल्याउन सक्छ ।

पूर्वमुख्यसचिव अर्यालले भने, “१७ औँ योजना बनाउँदा हामीलाई अब हामीले खोजेको जस्तो पूर्वाधार, सामाजिक क्षेत्र विकासका लागि हामीलाई कस्तोकस्तो जनशक्ति कतिकति आवश्यक पर्छ, र त्यसका लागि आपूर्ति कसरी हुन्छ ? हाम्रा संघ संस्थाले कसरी पढाउँछन् ? यसमा अभ्यास गरौँ । अहिले डाक्टरहरु हामी कहाँ भनेजति छैनन्, पढेजति विदेश पलायन भए । नर्सहरु ओभर उत्पादन भए । हामीले काम दिन सकेनौँ । किनभने हामीले योजना बनाएर उत्पादन गर्न सकेनौँ । त्यसको आधाकारित तथ्यांक राष्ट्रिय तथ्यांक कार्यालयले दिनुपर्ने हो । अब तथ्यांक कार्यालयले जिपिएस राखेर पनि तथ्यांक संकलन गर्नसक्छ ।”

उनले राष्ट्रिय तथ्यांक कार्यालयले जीपीएस जस्ता प्रविधि प्रयोग गरेर अझ प्रभावकारी रूपमा तथ्यांक संकलन गर्नसक्ने सुझाव दिए ।