काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौँ महानगरपालिकाको संयुक्त अनुगमन टोलीले काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका तीन ओटा खाद्य व्यवसायमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार निरीक्षण तथा अनुगमन गरेको छ।
विभागका अनुसार गत पुस १४ गते गरिएको अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका–२८, प्रदर्शनी मार्ग क्षेत्रका क्यान्टिन, खाजा घर र ब्याङ्क्वेट एण्ड इभेण्ट म्यानेजमेन्ट व्यवसायमा सरसफाइ, भण्डारण तथा खाद्य सुरक्षासम्बन्धी विभिन्न कमजोरी भेटिएका छन्।
पद्मोदय माध्यमिक विद्यालयमा सञ्चालित ए.एण्ड ए. क्यान्टिनमा सरसफाइको अवस्था सामान्य रहे पनि खाद्य पदार्थको भण्डारण अव्यवस्थित रहेको, डस्टबिनको अवस्था सन्तोषजनक नरहेको तथा खाद्य र अखाद्य पदार्थ छुट्टाछुट्टै नराखिएको पाइएको छ।
अनुगमनका क्रममा फ्राइङ तेलको टीपीएम भ्यालु १३ प्रतिशत मापन भएको थियो। विभागले नियमित सरसफाइ गर्न, चेकलिस्ट बनाएर अभिलेख राख्न, तयार खाद्य वस्तु छोपेर सुरक्षित रूपमा भण्डारण गर्न तथा पकाउने खाद्य पदार्थमा कृत्रिम रङ प्रयोग नगर्न निर्देशन दिएको छ।
आर.आर. क्याम्पसमा सञ्चालित बस्याल खाजा घरमा व्यक्तिगत सरसफाइमा कमी, खाद्य पदार्थ नछोपी राखिएको, भण्डारण अव्यवस्थित तथा कीरा नियन्त्रणको व्यवस्था सन्तोषजनक नरहेको पाइएको छ। यहाँ प्रयोग भएको फ्राइङ तेलको टीपीएम भ्यालु १५.५ प्रतिशत रहेको विभागले जनाएको छ।
अनुगमन टोलीले सबै कमजोरी सुधार गर्न, खाद्य पदार्थमा प्रत्यक्ष सम्पर्क हुने गरी मसीजन्य पत्रपत्रिकाको प्रयोग नगर्न, पूर्ण लेबल विवरण भएका खाद्य पदार्थ मात्र प्रयोग गर्न र खाद्य स्वच्छता कायम गरेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ।
नेपाल ल क्याम्पसमा सञ्चालित निर्मल ब्याङ्क्वेट एण्ड इभेण्ट म्यानेजमेन्टमा किचेन सरसफाइ सामान्य भए पनि पकाउने र भाँडा धुने स्थान एउटै रहेको, कीरा नियन्त्रण र डस्टबिनको व्यवस्था कमजोर रहेको तथा कामदारको व्यक्तिगत सरसफाइमा कमी देखिएको छ।
अनुगमनका क्रममा फ्राइड तेलको टीपीएम भ्यालु १७.५ प्रतिशत पाइएको विभागले जनाएको छ। यस व्यवसायलाई पनि सम्पूर्ण कमजोरी सुधार गर्न, पूर्ण लेबल विवरण भएका खाद्य पदार्थ मात्र बिक्री–वितरण गर्न, कृत्रिम खाद्य रङ प्रयोग नगर्न र मसीजन्य पत्रपत्रिकाको प्रयोग नगर्न निर्देशन दिइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रवक्ता डा.बालकुमारी शर्माले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्ता अनुगमनलाई निरन्तरता दिइने बताइन्।



प्रतिक्रिया दिनुहोस्