काठमाडौँ । माघे संक्रान्ति पर्व नजिकिँदै जाँदा काठमाडौँ उपत्यकाका तरकारी बजारहरूमा तरुल तथा अन्य कन्दमूलको किनबेच उल्लेख्य रूपमा बढ्न थालेको छ।
माघ १ गते मनाइने यस पर्वमा तरुल, सखरखण्ड, पिँडालुजस्ता कन्दमूललाई विशेष परिकारका रूपमा खाने परम्परा रहेकाले बजारमा यसको माग एकाएक बढेको हो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डका अनुसार पर्व नजिकिएसँगै सर्लाही, धादिङ, नुवाकोट, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट ठूलो परिमाणमा तरुल काठमाडौं भित्रिने क्रम तीव्र भएको छ। हाल बजारमा वन तरुल, घर तरुल, सिमल तरुल, हात्तीपाइले तरुल, पातले तरुललगायत विभिन्न प्रजातिका तरुल उपलब्ध छन्।
व्यवसायीहरूका अनुसार यस वर्ष युवा पुस्ताको विदेश पलायन र घरघरमा मधुमेहका बिरामीको संख्या बढेकाले तरुलको समग्र मागमा केही कमी देखिए पनि पर्वको पूर्वसन्ध्यामा विक्री भने उल्लेख्य रूपमा बढेको छ। उपभोक्ताहरू आफ्ना रुचिअनुसार विभिन्न प्रजातिका तरुल किन्न बजारमा व्यस्त देखिन्छन्।
माघे संक्रान्तिमा घ्यू, चाकु र तिलको लड्डुसँगै तरुल उसिनेर वा पोलेर खाने चलन छ। यी परिकारले जाडो मौसममा शरीरलाई न्यानो प्रदान गर्ने र स्वास्थ्यका लागि लाभदायक हुने विश्वास गरिन्छ।
यसैबिच, झापाको बाहुनडाँगीमा माघे संक्रान्तिको अवसरमा अन्तर्राष्ट्रिय तरुल महोत्सव आयोजना गर्ने तयारी भइरहेको छ। पर्व नजिकिँदै जाँदा बजारमा तरुलको रौनक बढ्दै गएको छ भने उपभोक्ताहरूमा पनि उत्साह थपिएको छ।


प्रतिक्रिया दिनुहोस्