एमएसएमईजको कार्यसम्पादन खस्कँदो, औसत क्षमता उपयोग ५०.७ प्रतिशत


काठमाडौँ । लघु, साना तथा मझौला उद्योगहरू (एमएसएमईज) को कार्यसम्पादन खस्कँदो अवस्थामा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले चितवन र मकवापुरमा गरेको एमएसएमईजको वर्तमान स्थिती अध्ययन अनुसार कारोबारको आधारमा कार्यसम्पादन अवधारणा खस्कँदो देखिएको हो ।

राष्ट्र बैंकले चितवन र मकवानपुर जिल्लाका ३२१ वटा उद्योगहरूबाट तथ्यांक संकलन गरेको थियो ।

नेपालको सन्दर्भमा औद्योगिक प्रतिष्ठानहरूको ९९.८ प्रतिशत (९,२३,३५६ कुल प्रतिष्ठान), संलग्न जनशक्तिको ८४.७ प्रतिशत (३२,२८,४५७ कूल जना), वार्षिक बिक्रीको ६२.२ प्रतिशत (रु. २९१५.६ अर्ब कूल बिक्री) र महिला व्यवस्थापकद्वारा सञ्चालित प्रतिष्ठानहरूको ९९.९६ प्रतिशत (२,७३,४३६ प्रतिष्ठान महिला सञ्चालक)
हिस्सा लघु, साना तथा मझौला उद्योगको रहेको छ ।

यस सर्वेक्षणमा ५२.७ प्रतिशत उद्योगहरूको कार्यसम्पादन स्थिति खस्कँदो (२३.७ प्रतिशत सामान्य र २९ प्रतिशत उच्च गिरावट) देखिएको छ भने २०.३ प्रतिशतको स्थिति स्थिर र २७.१ प्रतिशतको स्थिति सुधारोन्मुख रहेको जनाइएको छ ।

लगानीमा औसत प्रतिफल ११.७ प्रतिशत, औसत क्षमता उपयोग ५०.७ प्रतिशत, वार्षिक औसत सञ्चालन ११.४ महिना र दैनिक औसत सञ्चालन ११.३ घण्टा रहेको पाइएको छ । त्यस्तै, वार्षिक बिक्रीको मध्यक करिब ४० लाख रूपैयाँ, चुक्ता पूँजी २५ लाख रूपैयाँ र कुल स्थिर पूँजी ५० लाख रूपैयाँ रहेको देखिएको जनाएको छ ।

समग्र प्रशासनिक प्रक्रियाहरूको अवधारणामा १५.७ प्रतिशतले ’खराब’ र १६.४ प्रतिशतले ’अति खराब’ भनी आलोचना गरेका छन् ।

कुल ३९.० प्रतिशत लघु, साना तथा मझौला उद्योगहरूले समग्र कर्जा वित्तको अवस्थालाई ’औसत’ मानेका छन् भने ४४.६ प्रतिशतले यसलाई ’खराब’ देखि ’अति खराब’ श्रेणीमा राखेका छन् । लगानीको प्रमुख वित्तीय स्रोतका रूपमा व्यक्तिगत बचत रहेको पाइएको छ भने दोस्रोमा बैंक तथा वित्तीय संस्थाबाट लिइने कर्जा रहेको छ ।

समग्र कर प्रणालीप्रति ४३.१ प्रतिशत उद्योगीहरूले असन्तुष्टि व्यक्त गरेका छन् भने ३६.२ प्रतिशतले यसलाई औसत मानेका छन् ।

४७.६ प्रतिशत उद्योगहरूले समग्र बजार वातावरणलाई ’औसत’ मूल्याङ्कन गरेका छन् भने ४३.० प्रतिशतले यसलाई ’खराब’ देखि ’अति खराब’ श्रेणीमा राखेका छन्। यसले बजारको अवस्थाप्रति सामान्य असन्तुष्टि रहेको संकेत गर्दछ ।

८२.१ प्रतिशत उद्योगीले सरकार र नेपाल राष्ट्र बैंकका प्रोत्साहन र सहायता कार्यक्रमहरूको पर्याप्ततालाई खराब देखि अति खराब श्रेणीमा राखेका छन । यसले विद्यमान प्रोत्साहन र सहायता कार्यक्रमको पर्याप्तता प्रति धेरै जसोमा असन्तुष्टि रहेको देखिन्छ ।