संस्थापन पक्षले पनि गगन थापाको नेतृत्वलाई स्वीकार गरेर काँग्रेस अघि बढ्नुको विकल्प छैनः सुनिल शर्मा


काठमाडाैँ । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले गगन थापा नेतृत्वको काँग्रेसलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। निर्वाचन आयोगबाट आधिकारिकता पाइसकेको नयाँ नेतृत्वलाई सबै पक्षले मान्यता दिएर पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता शर्माले संस्थापन पक्षको उत्पीडनका कारण विशेष महाधिवेशन हुनुपरेको र त्यसै महाधिवेशनबाट चयन भएको नेतृत्वलाई स्वीकार गर्नु नै लोकतान्त्रिक प्रक्रिया भएको स्पष्ट पारे।

उनले नवनिर्वाचित सभापति गगन थापाको दायित्व पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेत मिलाएर लैजानु रहेको बताए। सभापति थापा, उपसभापति तथा अन्य नेताहरूले सबै पक्षलाई समेटेर अघि बढ्ने विश्वास आफूले लिएको पनि उनले उल्लेख गरे।

डा. शर्माका अनुसार पछिल्ला पाँच वर्षभित्र काँग्रेसभित्र नहुनुपर्ने गतिविधि भएको, टिकट वितरणमा व्यापक चलखेल भएको र संस्थापन पक्षमा नलागेका कार्यकर्तामाथि उत्पीडन भएको अवस्था सिर्जना भएको थियो। यही कारण पार्टीभित्र परिवर्तनको माग बलियो बनेको र विशेष महाधिवेशन त्यसैको परिणाम भएको उनको भनाइ छ। उनले अब विगतका असन्तुष्टिलाई थाती राखेर पार्टीलाई मजबुत बनाउनेतर्फ सबै नेताहरू केन्द्रित हुनुपर्ने बताए।

लोकतन्त्रमा गुट र प्रतिस्पर्धा स्वाभाविक हुने उल्लेख गर्दै नेता शर्माले विधि र विधानभित्र रहेर प्रतिस्पर्धा हुनुपर्ने धारणा राखे। निर्वाचन आयोगले दिएको निर्णयलाई स्वीकार गरेर अघि बढ्नु बाहेक अब कुनै विकल्प नरहेको उनको जिकिर छ। उनले अधिवेशनपछि भएका असन्तुष्टि र भनाभनालाई अब समाप्त गर्दै नयाँ परिस्थितिमा प्रवेश गर्नुपर्ने बताए।

आगामी निर्वाचनका सन्दर्भमा उनले नेपाली काँग्रेस एक्लै चुनावी मैदानमा उत्रने र बहुमत हासिल गर्ने दाबी गरे। गठबन्धनको सम्भावना नरहेको उल्लेख गर्दै उनले २६५ वटै निर्वाचन क्षेत्रमा काँग्रेसका उम्मेदवार रहने बताए। बहुमतसहित सरकार बनाउने र गगन थापालाई प्रधानमन्त्री बनाउने लक्ष्यसहित आफूहरू अघि बढ्ने नेता शर्माको भनाइ छ।

काँग्रेस विभाजित नभएको र पार्टीभित्र विवाद अब टुंगिएको दाबी गर्दै उनले सबै नेताहरूले व्यक्तिगत अहंकार त्यागेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।