काठमाडाैँ । नेपाली काँग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको अभिभावकीय भूमिकाको आवश्यकता रहेको निष्कर्ष निकालेको छ। शनिबार बानेश्वरमा बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले देउवालाई पार्टीको अभिभावकको भूमिकामा निरन्तर रहन आग्रह गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीलाई देउवाले पुर्याएको योगदान र प्रदान गरेको नेतृत्वको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय गरिएको जानकारी दिए । उनले आगामी दिनमा पनि देउवाको अभिभावकीय भूमिका पार्टीका लागि आवश्यक रहने विश्वास बैठकले व्यक्त गरेको बताए ।
बैठकले निवर्तमान केन्द्रीय कार्यसमिति र अग्रज नेताहरूलाई पनि पार्टीको काममा सक्रिय रूपमा फर्किन आग्रह गरेको छ। पार्टीलाई अझ सशक्त र ऐतिहासिक काँग्रेसका रूपमा अघि बढाउन सबै नेताहरूले आ–आफ्नो तहबाट महत्वपूर्ण योगदान पुर्याउने विश्वास बैठकले लिएको प्रवक्ता चालिसेले बताए ।
यसैबिच, काँग्रेसले निर्वाचन केन्द्रित गतिविधि तीव्र बनाउने निर्णय पनि गरेको छ। निर्वाचनका लागि समय कम रहेकाले तत्कालै पार्टीको संसदीय बोर्डको बैठक बस्ने र उम्मेदवार छनोटलगायतका आवश्यक निर्णयहरू छिटो टुङ्ग्याइने उनले जानकारी दिए। पार्टी अहिले पूर्ण रूपमा निर्वाचनमा केन्द्रित भएको उनको भनाइ छ।
प्रवक्ता चालिसेले निर्वाचन आयोगले पार्टीको विधान र संविधानअनुसार नै काँग्रेसलाई आधिकारिकता दिएको उल्लेख गर्दै आयोगको निर्णयविरुद्ध मुद्दामामिला नगर्न सम्बन्धित पक्षलाई आग्रहसमेत गरे । देउवा पक्षका केही नेताहरूले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको सन्दर्भमा उनले यस्तो आग्रह गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्