अस्थिर सरकार भएका कारण आर्थिक परिवर्तनले अपेक्षित गति लिन सकेन्ः अध्यक्ष पाण्डे


काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालमा अस्थिर सरकार भएका कारण आर्थिक परिवर्तनले अपेक्षित गति लिन नसकेको बताएका छन्।

परिसंघले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा पाण्डेले आर्थिक सुधारका लागि राजनीतिक स्थिरता अनिवार्य रहेको स्पष्ट पारेका हुन् । उनले भने, “२००७ सालदेखि २०८२ सालको जेन–जी आन्दोलनसम्म आइपुग्दा धेरै पटक राजनीतिक परिवर्तन भए पनि आर्थिक सुधारले तिब्रता पाएको छैन। दलहरुले घोषणापत्रमा आर्थिक एजेण्डा प्रस्तुत गरे पनि सरकारमा पुगेपछि कार्यान्वयन हुन सकेको छैन।”

पाण्डेका अनुसार २०४६ सालदेखि हालसम्म बनेका अधिकांश सरकारको कार्यकाल करिब एक वर्षको हाराहारीमा मात्रै रहेको छ, जसले दीर्घकालीन आर्थिक सुधारमा ठूलो असर पारेको छ।

उनले भने, “हाम्रो २०४७ देखि २०८२ सालको अवधिमा ३० वटा सरकार परिवर्तन भएका छन्। एक सरकारले औसतमा १ दशमलब १८ वर्ष मात्र शासन गरेको छ। छोटो कार्यकालका कारण नीतिहरु प्रभावकारी रूपमा लागू हुन सकेका छैनन्। यदि सबै राजनीतिक दलले कुनै साझा आर्थिक एजेण्डा तय गरे र जुनसुकै पार्टी सरकारमा आए पनि त्यसको निरन्तरता सुनिश्चित भयो भने दीर्घकालीन आर्थिक विकासमा सहयोग पुग्छ।”

पाण्डेले राजनीतिक दलहरुलाई आर्थिक एजेण्डालाई पहिलो प्राथमिकता दिँदै घोषणापत्र तयार गर्न आग्रह गरेका छन्। परिसंघले यस उद्देश्यका लागि राष्ट्रियस्तरका दलहरूसँग साझा प्रतिवद्धताको विषयमा छलफल गर्ने योजना बनाएको छ।