आरबीआई गभर्नरसँग गभर्नर पौडेलको भेट, अन्तरदेशीय डिजिटल भुक्तानी र वित्तीय सहकार्यमा छलफल


काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र भारतीय रिजर्व बैंक (आरबीआई) का गभर्नर सञ्जय मलहोत्राबिच अन्तरदेशीय वित्तीय सहकार्यका विषयमा छलफल भएको छ।

गत माघ ५ गते भारतको मुम्बईस्थित आरबीआईको केन्द्रीय कार्यालयमा भएको भेटवार्तामा नेपाल–भारतबिच अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली, क्यूआर कोडमार्फत हुने कारोबार, तथा दुई देशका लागि आपसी हितका विषयमा विस्तृत छलफल गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

भेटका क्रममा नेपाली नागरिकले भारत भ्रमणका बेला विद्युतीय भुक्तानीलाई सहज बनाउने उपाय तथा यस क्षेत्रमा आरबीआईले अवलम्बन गरेका असल नीतिगत अभ्यासबारे समेत चर्चा भएको थियो।

त्यसैगरी, वित्तीय क्षेत्रका उदीयमान तथा समसामयिक चुनौती, मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापन, आर्टिफिसियल इन्टिलिजेन्समा आधारित सुपरिवेक्षण प्रणाली र सूचना प्रविधिसम्बन्धी विषयमा दुई केन्द्रीय बैंकबिच सहकार्य विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान भएको जनाइएको छ।

भेटवार्तामा नेपाल राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक किरण पण्डित, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिना तथा बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले आ–आफ्ना विभागसँग सम्बन्धित विषयमा आरबीआईसँग सहकार्य गर्न सकिने सम्भावनाबारे धारणा राखेका थिए।

यसैबिच भारत भ्रमणकै क्रममा २०८२ माघ ६ गते गभर्नर पौडेलले गुजरातको अहमदाबादस्थित इन्टरनेसनल फाइनान्सियल सर्भिस सेन्टर्स अथोरिटीका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए।

उक्त भेटमा गुजरात इन्टरनेसनल फाइनान्स टेक–सिटी (गिफ्ट सिटी) को अवधारणा, हालको अवस्था, लगानी प्रवर्धनका लागि अवलम्बन गरिएका नीति तथा नेपाल राष्ट्र बैंकसँग सहकार्य गर्न सकिने क्षेत्रबारे छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

भेटवार्ताका क्रममा अन्तरदेशीय क्यूआर कोड भुक्तानी प्रणालीलाई सहजीकरण गर्ने विषयमा विशेष ध्यान दिइएको थियो।