दक्षिण कोरियाको नर्थ चुङच्योङ प्रान्तमा कारखाना आगलागी, एक नेपालीसहित २ कामदार फसेको आशंका


काठमाडाैँ । दक्षिण कोरियाको उमसेओङ काउन्टीमा रहेको एक घरेलु सामान उत्पादन गर्ने कारखानामा शुक्रबार दिउँसो भीषण आगलागी हुँदा एक नेपालीसहित दुई कामदार फसेको बताएका छन् ।

कारखानाका कुल ८३ कर्मचारीमध्ये ८१ जनालाई तुरुन्तै सुरक्षित रूपमा निकालिएको छ । बेपत्ता हुनेहरूमा २० वर्षका एक नेपाली युवक र ५० वर्षका उज्वेकिस्तानका एक पुरुष रहेका छन् ।

अग्नि नियन्त्रकहरूले आपतकालीन प्रतिक्रियालाई लेभल २ मा बढाएर आगलागी नियन्त्रण र खोजी कार्य जारी राखेका छन् । कारखानाले वेट वाइप्स र डायपर उत्पादन गर्दछ र त्यहाँ कुनै पनि हानिकारक रसायनहरूको प्रयोग नगरिने बताइएको छ ।

आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि आगलागीको कारण र क्षतिको अनुसन्धान गरिने अधिकारीहरूले बताएका छन् ।