काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि पार्टीले रोजगार र मध्यम वर्गीय परिवारलाई केन्द्रमा राखेर घोषणापत्र ल्याउने बताएका छन्।
जेनजी आन्दोलनपछि देखिएको प्रमुख माग नै रोजगार भएको उल्लेख गर्दै उनले रास्वपाको प्राथमिकता यही विषय हुने स्पष्ट पारे।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘दलको घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा बोल्दै खनालले रोजगार सिर्जनाका लागि निजी क्षेत्रलाई सहज हुने खालका कानुन निर्माणमा जोड दिने बताए।
रास्वपाले आफ्नो आर्थिक प्रस्तावना र अर्थतन्त्रप्रतिको दृष्टिकोण पहिल्यै सार्वजनिक गरिसकेको उल्लेख गर्दै उनले उदार अर्थतन्त्रमा विश्वास गरे पनि त्यसलाई सामाजिक न्यायसँग जोडेर अघि बढाइने धारणा राखे।
खनालले पर्यटन क्षेत्रको विकासका लागि कनेक्टिभिटी सुधार अपरिहार्य रहेको बताए। टेक्नोलोजी र जलविद्युतलाई प्राथमिकतामा राखेर आर्थिक विकास गरिने बताउँदै उनले आगामी १० वर्षभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने लक्ष्य पार्टीले लिएको जानकारी दिए।
मध्यम वर्गीय परिवारलाई लक्षित गर्दै सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक सुधार आवश्यक रहेको उनको भनाइ थियो।
सुशासनबिना अर्थतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै खनालले नियामक निकायमा हुने हस्तक्षेप रोक्नुपर्ने र नियुक्ति प्रक्रिया पारदर्शी हुनुपर्नेमा जोड दिए।
पूर्वाधार क्षेत्रमा ठूलो लगानी आवश्यक रहे पनि योजनाबद्ध र लक्षित ढङ्गले लगानी गर्नुपर्ने बताउँदै उनले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको बताए। साथै, विदेशमा रहेका नेपालीलाई स्वदेशमै लगानी गर्न आकर्षित गर्ने वातावरण निर्माण गर्न सकिने उनको भनाइ थियो।
कार्यक्रममा उनले बहुमत बिना राजनीतिक दलका घोषणापत्र कार्यान्वयन गर्न कठिन हुने पनि बताए। एउटै दलको बहुमत आए मात्र घोषणापत्र प्रभावकारी रूपमा लागू हुन सक्ने उनको दाबी थियो।
“सरकारले चाहेको खालका मात्रै कानुन बन्ने अवस्था हुन्छ। पाँच–छ वटा दल मिलेर बनेको सरकार र त्यसमाथि पनि अस्थिरता हुँदा घोषणापत्र कार्यान्वयन हुन सक्दैन,” उनले भने।


प्रतिक्रिया दिनुहोस्