काठमाडौँ महानगरपालिकाले सुरू गर्‍यो सहकारी संस्थाको स्थलगत निरीक्षण तथा अनुगमन


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले आफ्नो नियमन क्षेत्रभित्र रहेका सहकारी संस्थाहरूको आर्थिक तथा प्रशासनिक अवस्था जाँच गर्ने उद्देश्यले आर्थिक वर्ष २०८१/०८२ का लागि सहकारी निरीक्षण तथा अनुगमन प्रक्रिया औपचारिक रूपमा सुरू गरेको छ।

काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ को परिच्छेद १६ अनुसार सुपरीवेक्षण, निरीक्षण, अनुगमन तथा नियमन कार्य अगाडि बढाइएको महानगरपालिकाको सहकारी विभागले जनाएको छ।

विभागका अनुसार अब गठन हुने अनुगमन तथा निरीक्षण टोलीले सहकारी संस्थाहरूमा स्थलगत निरीक्षण गर्नेछ।

निरीक्षणका क्रममा सहकारी संस्थाहरूले आफ्नो दर्ता प्रमाणपत्र, विनियम, वार्षिक तथा विशेष साधारण सभाका निर्णय प्रतिवेदन, सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको विवरण, सदस्य दर्ता तथा शेयर पूँजी सम्बन्धी अभिलेख, बचत तथा ऋण कारोबारका कागजात, ऋण लगानी फाइल, लेखापरीक्षण प्रतिवेदन, बैंक खाता विवरण, कर्मचारी सम्बन्धी कागजात, आन्तरिक नियन्त्रण प्रणाली तथा महानगरपालिकाबाट प्राप्त निर्देशन र परिपत्रको कार्यान्वयन अवस्थासम्बन्धी विवरण उपलब्ध गराउनुपर्नेछ।

सहकारी विभागले निरीक्षण टोली उपस्थित हुँदा माग गरिने सबै कागजात तथा सूचना तयारी अवस्थामा राखी सहजीकरण गर्न सम्बन्धित सहकारी संस्थाहरूलाई आग्रह गरेको छ।