एकै चरणमा निर्वाचन गराउन सरकारसँग सांसद विसीको माग


काठमाडाैँ । राष्ट्रिय सभा सदस्य सुमित्रा विसीले प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन दुई चरणमा हुन सक्ने भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएकी छन्।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले तोकिएको मितिमै एकैपटक देशभर निर्वाचन सम्पन्न गर्न सरकारलाई सचेत गराएकी हुन् ।

सांसद विसीले निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गराउन सरकारको दायित्व रहेको उल्लेख गर्दै निर्वाचन ढिलाइ हुने वा दुई चरणमा गरिने भन्ने अभिव्यक्तिले आशंका पैदा गरेको बताइन् ।

सरकारले छ महिनाभित्र निर्वाचन गराइसक्ने प्रतिबद्धता व्यक्त गरिसकेको अवस्थामा प्रधानमन्त्रीबाटै फरक–फरक संकेत आउनु उपयुक्त नभएको उनको भनाइ थियो।

“यो सरकार छ महिनाभित्र निर्वाचन गराइसक्ने भनेर स्थापित भइसकेको छ। तर कहिले दुई चरणमा निर्वाचन गराउने, कहिले निर्वाचन ढिलो पनि हुनसक्छ भन्ने कुरा प्रधानमन्त्रीबाटै आउने गरेकाले निष्पक्ष, स्वच्छ र भयरहित चुनाव छिटोछरितो रूपमा सम्पन्न गर्न एकैचोटी निर्वाचन गराउन म सरकारसँग माग गर्दछु,”उनले भनिन् ।

सांसद विसीले एकै चरणमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सरकारकै भएको उल्लेख गर्दै त्यसबाट भाग्ने प्रयास गर्न नहुने स्पष्ट पारिन्। निर्वाचनप्रति जनविश्वास कायम राख्न सरकार दृढ र स्पष्ट हुनुपर्ने उनको जोड थियो।