काठमाडाैँ । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद मायाप्रसाद शर्माले आगामी निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद शर्माले निर्वाचन प्रचार–प्रसारका क्रममा सामाजिक सञ्जालमार्फत आपत्तिजनक भाषा र गालीगलौज बढ्दै गएकोप्रति आपत्ति जनाएका हुन् ।उनले यस्ता गतिविधिले समाजमा नकारात्मक प्रभाव पार्ने भन्दै सम्बन्धित निकायले तत्काल रोक लगाउनुपर्ने आवश्यकता औंल्याए ।
सांसद शर्माले राजनीतिक दलहरूले निर्वाचनमा मर्यादित प्रतिस्पर्धा गर्दै आफ्नो पार्टीको स्पष्ट सैद्धान्तिक दृष्टिकोणसहित जनतामाझ प्रस्तुत हुनुपर्ने बताए । दलहरूले आफ्नो विचार, नीति र लक्ष्य स्पष्ट रूपमा राख्न नसके जनतामा भ्रम सिर्जना हुने खतरा बढ्ने उनको भनाइ थियो।
उनले भने “अब निर्वाचन आयो, निष्पक्ष होस्, शान्तिपूर्ण होस्। राजनीतिक दलहरूले तँछाडमछाड र गालीगलौज होइन, समाजवाद हो कि जनवाद हो कि लोकतन्त्र हो कि, आफ्नो स्पष्ट सैद्धान्तिक दृष्टिकोण लिएर जनतामा जानुपर्छ। फेसबुकमा जथाभावी लेख्ने, तथानाम गालीगलौज गर्ने प्रवृत्तिले देशलाई गलत दिशातर्फ लैजान्छ। त्यसैले सबै दलहरू जिम्मेवार बन्न आवश्यक छ।”
सांसद शर्माले जाजरकोट लगायत भूकम्प प्रभावित क्षेत्रका पीडितहरूको राहत तथा पुनःस्थापनाको काममा भइरहेको ढिलाइप्रति पनि सरकारको ध्यानाकर्षण गराए । उनले पीडित नागरिकले समयमै राहत पाउने सुनिश्चितता गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्