नेप्से घटेपनि कारोबार रकम भने झण्डै ५ अर्ब माथि


काठमाडौं । साताको पहिलो कारोबारको दिन बढेको सेयरबजार आज भने गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ९.०१ अंकले घटेर २१७३ .१० अंकमा झरेको छ । नेप्से ०.४१ प्रतिशतले घटेको हो । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि १.९३ अंकले घटेर ४१३.९० अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहको सेयर घटेको छ । बाँकी ३ वटा उपसमूहकोे सेयर बढेको छ । विकास बैंक, हाइड्रोपावर र म्युचुअल फण्ड समूह बढेको हो ।

बुधबार रिडी पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३५ करोड ७८ लाख ५४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आजको दिन पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर, हिमालयन उर्जा र ग्रीन भेन्चर्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी ४ वटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै आज साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका लगानीकर्ता सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.८९ प्रतिशतले घटेको छ ।

कूल २४८ वटा कम्पनीको एक करोड ३३ लाख ४ हजार एक सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६ सय २ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।