आइतबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक


काठमाडौंँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ६९८.४४ को बिन्दुमा कायम भएको छ ।

आज ३३० कम्पनीको दुई करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर एक लाख ११ हजार ९७८ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज लगानी समूह ०. ०८ र अन्य समूह ०. ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०. १४, विकास बैंक शून्य दशमलव ९२, वित्त ०.०१, होटल तथा पर्यटन २. १३, जलविद्युत् ०. ३१, जीवन बीमा ०. ७१ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव १५ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त ०. २१, म्युचुअल फन्ड ०. ६१, निर्जीवन बीमा ०. ३२, र व्यापार १. ३० प्रतिशतले घटेको छ ।

सुपर माई हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य ८.९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सुपर मार्दी हाइड्रोपावर लिमिटेडको रू ५६ करोड तीन लाख ४८ हजार १५५ बराबरको खरिदबिक्री भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने रिडि पावर कम्पनी लिमिटेडको १६ लाख ५८ हजार ७२५ बराबरको किनबेच भएको छ ।