म्याग्दीमा ३१ करोड ६० लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन


काठमाडौं । म्याग्दीमा यस वर्ष रु ३१ करोड ६० लाख बराबरको चार हजार ५१५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । कृषि विकास कार्यालय, म्याग्दीका अनुसार ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलव ५ मेट्रिक टनका दरले उत्पादन भएको हो । सुन्तला जिल्लाको प्रमुख नगदेबाली हो ।

गत वर्षको तुलनामा उत्पादन ५ दशमलव ५६ प्रतिशतले घटेको छ । यस वर्ष रोगकीराको समस्या नदेखिए पनि बोटमा दाना कम लागेकाले उत्पादन घटेको कार्यालयले जनाएको छ । किसानले प्रतिकिलो औसत रु ७० का दरले सुन्तला बिक्री गरेका छन्, जुन गत वर्षभन्दा रु पाँच बढी हो ।

म्याग्दीका विभिन्न स्थानीय तहमा दुई सयभन्दा बढी सुन्तला बगैँचा रहेका छन् । बेनीसहित काठमाडौँ, पोखरा र मुग्लिनलगायत बजारमा सुन्तला बिक्री भइरहेको छ । यातायात सुविधा सहज भएकाले व्यापारी बगैँचामै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् ।