दोस्रो ‘सांगीतिक धमका’ कुवेतमा: प्रवासी नेपालीबिच मेलमिलाप र सांस्कृतिक चेतना प्रवर्धन गर्ने उद्देश्य


काठमाडाैँ । खोटाङ कुवेत सम्पर्क मञ्चले प्रवासी नेपाली समुदायबीच आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक पहिचान सुदृढ पार्ने उद्देश्यसहित दोस्रो ‘सांगीतिक धमका’ कार्यक्रम आयोजना गर्ने भएको छ।

मञ्चका अनुसार कार्यक्रम आगामी २०८३ साल बैशाख ११ गते (२४ अप्रिल २०२६), शुक्रबार कुवेतमा भव्य रूपमा सम्पन्न गरिनेछ।

मञ्चको २१ औँ मासिक बैठकपछि नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोकप्रिय कलाकारलाई आमन्त्रण गरी विशेष सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिने निर्णय गरिएको छ।

मञ्चले यो कार्यक्रम केवल मनोरञ्जनमात्रका लागि नभई प्रवासी नेपालीबिच मेलमिलाप, भाइचारा, सामाजिक उत्तरदायित्व र सांस्कृतिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको जनाएकाे छ ।

बैठक कुवेतस्थितमा सम्पन्न भएको थियो। मञ्चका अध्यक्ष विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा भएको बैठकमा संस्थाका गतिविधि, आगामी योजना, प्रवासी नेपाली समुदायका समस्या र समाधानका उपाय, साथै संस्थागत सुदृढीकरणबारे विस्तृत छलफल भएको थियो। बैठकले सर्वसम्मत रूपमा दोस्रो ‘सांगीतिक धमका’ आयोजना गर्ने निर्णय गरेको हो।

कार्यक्रमलाई सफल, सभ्य र मर्यादित बनाउन कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्था, सामाजिक अभियन्ता, कलाकार, बुद्धिजीवी, पत्रकार र नेपाली समुदायलाई सहयोग र सहभागिताका लागि मञ्चले आग्रह गरेको छ।

साथै, कार्यक्रमको स्थान, समय, टिकट विवरण र सहभागी कलाकारबारेको जानकारी छिट्टै आधिकारिक माध्यममार्फत सार्वजनिक गरिने बताइएको छ।