काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवं झापा क्षेत्र नं. ५ का उम्मेदवार केपी शर्मा ओलीले आज आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै आगामी निर्वाचनमा क्षेत्रीय विकासका लागि अगाडि सर्ने योजनाहरू घोषणा गरेका छन्।
उनले पार्टीको राष्ट्रिय नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ र ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण’ अनुसार समग्र विकास र जनताको जीवनस्तर उकास्ने लक्ष्य राखेका छन्।
ओलLले सार्वजनिक गरेका योजनामा पूर्वाधार, सामाजिक न्याय, कृषि, उद्योग, स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन, खेलकुद र स्थानीय आर्थिक विकासलाई प्राथमिकता दिइएको छ।
पूर्वाधार क्षेत्रमा उनले दमक–चिसपानी–रवि सडक खण्डको निर्माण तीव्र गतिमा अघि बढाउने, दमक ३ को महेश चौकेदेखि उर्लाबारी जोड्ने मावा खोलामा पक्की पुल बनाउने, रतुवा, मावा, कमल र चन्दुवा खोलामा तटबन्धन पूरा गर्ने र गौरादह र गौरीगञ्जका ग्रामीण सडकहरूलाई कालोपत्रे गरी स्तरीय बनाउने योजना रहेको बताए। साथै हुलाकी मार्गअन्तर्गत मावा नदीको अधुरो पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
सामाजिक न्याय र आवासको क्षेत्रमा भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई धनीपूर्जा वितरणलाई तीव्रता दिने, जनता आवास तथा विपन्न आवास निर्माण कार्यक्रमलाई निरन्तरता दिने र पछाडि परेका आदिवासी, जनजाति, दलित, सन्थाल तथा मुस्लिम समुदायको जीवनस्तर उकास्ने विशेष कार्यक्रम ल्याउने योजना ओलीले सार्वजनिक गरे।
कृषि र औद्योगिक क्षेत्रमा कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरणमार्फत खाद्यान्नमा आत्मनिर्भर बनाउने, उत्पादित वस्तुको बजार व्यवस्थापन गर्ने, आवश्यक क्षेत्रमा जैविक मल कारखाना स्थापना गर्ने, नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण गर्ने र प्रत्येक पालिकामा चिस्यान केन्द्र स्थापना गर्ने योजना अघि सारिएको छ।
स्वास्थ्य, शिक्षा र खानेपानीको क्षेत्रमा दमक, कमल र गौरादहका अस्पतालहरू र गौरीगञ्ज अस्पतालको स्तरवृद्धि गर्ने, कमल ५ मा निर्माणाधीन प्रादेशिक आयुर्वेदिक अस्पताललाई सुविधा सम्पन्न बनाउने, सबै सामुदायिक क्याम्पस र विद्यालयहरूको भौतिक तथा शैक्षिक सुधार गर्ने र प्रत्येक घरधुरीमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने योजना रहेको छ।
पर्यटन र खेलकुदको क्षेत्रमा दमक भ्यु टावर, साइन्स पार्क, इन्द्रेणी ताल र पशुपति सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, कमलस्थित साधु होली र बाल्मीकि आश्रमलाई सांस्कृतिक पर्यटकीय स्थल बनाउने, गौरादह ७ मा आदिवासी सङ्ग्रहालय निर्माण कार्य पूरा गर्ने र प्रत्येक वडा तहमा खेलमैदान विस्तार गर्ने योजना ओलिले प्रस्तुत गरे। यसैगरी दमकमा निर्माणाधीन मदन भण्डारी रङ्गशाला पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
स्थानीय बजार र आर्थिक विकासको दृष्टिले गौरादह र गौरादह बजारलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने, गौरीगञ्जस्थित छोटी भन्सारलाई स्तरवृद्धि गर्ने, नमूना खेतीलाई विस्तार गर्ने र दमक ३ मा रहेको बिजनेस टावर सञ्चालनमा ल्याउने योजना अघि सारिएको छ।


प्रतिक्रिया दिनुहोस्