काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार खिम बहादुर थापा मगरले आफ्नो चुनावी सङ्कल्प पत्र सार्वजनिक गर्दै सुशासन, पूर्वाधार विकास र रोजगारी सिर्जनालाई प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्।
यसअघि कालीगण्डकी गाउँपालिकाको प्रमुख तथा दुग्ध विकास संस्थानको कार्यकारीको जिम्मेवारी सम्हालिसकेका थापा मगरले आफ्नो प्रशासनिक अनुभवलाई विकासमा रूपान्तरण गर्ने दाबी गरेका छन्।
उनले मुलुकमा सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै नीति निर्माण र कार्यान्वयनमा सक्रिय भूमिका खेल्ने बताएका छन्।
पूर्वाधार विकासतर्फ उनले निर्वाचन क्षेत्रभित्रका सबै पालिका केन्द्र जोड्ने सडक कालोपत्रे तथा स्तरोन्नति गर्ने योजना अघि सारेका छन्।
सिद्धार्थ राजमार्गको स्तरोन्नति र कालीगण्डकी कोरिडोरलाई पूर्णता दिने उनको योजना छ। ‘एक घर एक शुद्ध पिउने पानीको धारा’ कार्यक्रम सम्पन्न गर्ने, कालीगण्डकीको पानी लिफ्टिङ गरी विभिन्न फाँटमा सिँचाइ सुविधा विस्तार गर्ने तथा आँधिखोला हाई ड्याम निर्माणमा निर्णायक पहल गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।
कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिकीकरण गर्दै ‘एक पालिका एक उत्पादन’ नीति र ‘एक वडा एक खेती’ कार्यक्रम लागू गर्ने उनको योजना छ।
क्षेत्रको दीर्घकालीन समस्याका रूपमा रहेको बाँदर नियन्त्रणका लागि राष्ट्रिय नीति निर्माण गरी कार्यान्वयनमा लैजाने र कालीगण्डकी तथा आँधिखोलामा माछापालन प्रवर्द्धन गर्ने एजेन्डा उनले अघि सारेका छन्।
शिक्षा र स्वास्थ्यतर्फ प्रत्येक पालिकामा व्यावसायिक शिक्षालाई प्रोत्साहन गर्ने, कलेजहरूलाई प्रविधिमैत्री बनाउने तथा एक सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने उनको घोषणा छ।
स्थानीय अस्पतालहरूमा आधारभूत सेवा विस्तार, ज्येष्ठ नागरिक र अनाथका लागि वृद्धाश्रम तथा बालआश्रम निर्माण, मगर भाषा लगायत स्थानीय भाषा–संस्कृतिको संरक्षणमा विशेष पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
पर्यटन प्रवर्धनका लागि भीरकोट, स्वरेक कालिका, आलमदेवी र रानीमहल क्षेत्रलाई समेटेर धार्मिक पर्यटकीय सर्किट निर्माण गर्ने योजना प्रस्तुत गरिएको छ। रामदीधामदेखि देवघाटसम्म जल यातायात सञ्चालनका लागि सम्भाव्यता अध्ययन र पूर्वाधार विकास गर्ने विषय पनि उनको सङ्कल्प पत्रमा समावेश छ।
रोजगारी सिर्जनातर्फ आगामी पाँच वर्षभित्र ‘एक पालिका एक उद्योग’ स्थापना गर्ने, प्रत्येक पालिकामा कम्तीमा एक बहुउद्देश्यीय रंगशाला र प्रत्येक वडामा व्यायाम केन्द्र निर्माण गर्ने उनले बताएका छन्। पकवादी बेलचौरमा निर्माणाधीन क्रिकेट रंगशालाको काम सम्पन्न गर्ने प्रतिबद्धता पनि उनले दोहोर्याएका छन्।
स्याङ्जा क्षेत्र नम्बर २ अन्तर्गत कालीगण्डकी, गल्याङ्, चापाकोट, वालिङका केही वडा तथा भीरकोटका केही वडा समेटिएका छन्। यस क्षेत्रमा कुल १ लाख १७ हजार ९ सय ३० मतदाता रहेका छन्। उम्मेदवार थापा मगरले प्रस्तुत गरेको विकास एजेन्डा कार्यान्वयनमा आए स्याङ्जा–२ को समग्र आर्थिक, सामाजिक र भौतिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।


प्रतिक्रिया दिनुहोस्