समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा माघको १५ दिनमा १ करोड ८५ लाख ऋण असुली


काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले माघ महिनाको पहिलो १५ दिनमा विभिन्न समस्याग्रस्त सहकारीहरूबाट कुल रु. १ कराेड८५ लाख ७ हजार ११४ ऋण असुली गरेको छ।

समितिले यस अवधिमा ऋणी र बचतकर्ताबिच रु. ६८ लाख ७२ हजार ७६४ बराबरको बचत मिलान सम्पन्न गरेको छ भने ऋणीहरूको सङ्ख्या ७७ पुगेको छ।

समितिका अनुसार कुल १ हजार ३८ जना मागदावीकर्ता, ऋणी र बचतकर्तालाई अद्यावधिक विवरण र सूचना उपलब्ध गराइएको छ। यसैगरी ५४ वटा रोक्का भएका जग्गा, बैङ्क खाता र लकरहरू फुकुवा गरिएको छ भने ३० वटा स्थानमा तमसुक सङ्कलन र सम्पत्ति मूल्याङ्कनको कार्य सम्पन्न गरिएको छ।

केही प्रमुख सहकारीहरूमा हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीबाट सबैभन्दा बढी रु. ४८ लाख ८५ हजार ५९० ऋण असुली भएको छ र रु. १ कराेड ४ लाख २६ हजार ९७६ बराबरको बचत मिलान गरिएको छ। ओरेन्टल को-अपरेटिभबाट रु. ४३ लाख ९१ हजार ९०२ ऋण असुली भएको छ र १६ वटा सम्पत्ति/खाता फुकुवा गरिएको छ।

आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीले रु. ४१ लाख ५३ हजार ३१७ ऋण असुली गरेको छ। कान्तिपुर सेभिङ एण्ड क्रेडिटमा रु. ५ लाख १२ हजार ८०० ऋण असुली र रु. १२ लाख ३ हजार ५०४ बचत मिलान भएको छ भने ४०० जनालाई सूचना उपलब्ध गराइएको छ। तुलसी बहुमुखी सहकारीले रु. ७ लाख ९२ हजार ७२७ ऋण असुली र रु. ५३ लाख ३४ हजार ८०३ बचत मिलान गरेको छ।

समितिले हाल २१ वटा समस्याग्रस्त सहकारीहरूको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीको काम गरिरहेको छ।

गोर्खा सेभिङ, पशुपति सेभिङ र तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीमा पनि असुली र मिलानका कामहरू जारी रहेको समितिले जनाएको छ।