अनुदानित मल आपूर्तिमा ४ लाख ९१ हजार मेट्रिक टनको टेण्डर, १ लाख २७ हजार टन गोदाममा मौज्दात


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानित रासायनिक मलको आपूर्ति, मौज्दात र विक्रीसम्बन्धी पछिल्लो विवरण सार्वजनिक गरेको छ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि ६ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने वार्षिक लक्ष्य लिइएको छ। यसका लागि २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०८२ साउन १ देखि फाल्गुन ८ गतेसम्म कुल ४ लाख ९१ हजार ४ सय मेट्रिक टन मलका लागि टेण्डर प्रक्रिया सम्पन्न भइसकेको छ।

चालु आर्थिक वर्षमा गत आर्थिक वर्षबाट मार्गस्थ अवस्थामा रहेका परिमाणसमेत समावेश गरी हेर्दा युरिया, डीएपी र पोटास गरी कुल ४ लाख ७१ हजार ५ सय ११.९५ मेट्रिक टन मल आपूर्तिको अवस्थामा पुगेको छ।

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसनमार्फत आपूर्ति भएको मलमध्ये युरिया २ लाख ७८ हजार ७ सय ७३.५ मेट्रिक टन, डीएपी १ लाख ७५ हजार १ सय ५०.७५ मेट्रिक टन र पोटास १७ हजार ५ सय ८७.७ मेट्रिक टन रहेको मन्त्रालयले जनाएको छ।

हाल देशभरका गोदाममा मौज्दात रहेको रासायनिक मलको परिमाण १ लाख २७ हजार ४ सय ९२.७ मेट्रिक टन पुगेको छ। यसमध्ये युरिया ७६ हजार ९५.६५ मेट्रिक टन, डीएपी ३७ हजार ८ सय ६०.३ मेट्रिक टन र पोटास १३ हजार ५ सय ३६.७५ मेट्रिक टन मौज्दात रहेको छ।

विक्रीतर्फ हेर्दा गत आर्थिक वर्ष २०८१/८२ बाट बाँकी रहेको मौज्दातसमेत जोड्दा हालसम्म ३ लाख ९० हजार ६६ मेट्रिक टन रासायनिक मल किसानसम्म पुगेको मन्त्रालयको तथ्याङ्क छ। यसमध्ये युरिया २ लाख २७ हजार ७ सय ८१.५ मेट्रिक टन, डीएपी १ लाख ५१ हजार १ सय १४.८ मेट्रिक टन र पोटास ११ हजार १ सय ७०.१५ मेट्रिक टन विक्री भएको देखिन्छ।

त्यसैगरी आन्तरिक तथा बाह्य मार्गस्थ अवस्थामा रहेको रासायनिक मलको परिमाण ३३ हजार ३ सय ९५.३ मेट्रिक टन रहेको छ। मन्त्रालयका अनुसार यस्ता परिमाण समयमै देशभित्र भित्र्याउने तयारी भइरहेको छ र कृषि उत्पादनमा मल अभाव नहोस् भन्ने उद्देश्यका साथ आपूर्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।