‘सिताराम गोकुल मिल्क्स’को दुधमा गुणस्तर मापदण्डभन्दा कम भएपछि बिक्री वितरणमा रोक्का


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नियमित अनुगमनको क्रममा काठमाडौँ किर्तिपुर ०४ मा सञ्चालन हुने सिताराम गोकुल मिल्क्स उद्योगको प्रशोधित दुध रोक्का गरेको छ।

अनुगमनका क्रममा उद्योगमा रहेको लगबुकमा दुधको चिल्लो पदार्थ ३.० प्रतिशत हुनुपर्ने मापदण्डको सट्टा १.४प्रतिशत मात्र पाइएको छ।

सोही ब्याच (उत्पादन मिति: २०८२-१२-०२, व्याच नं: २८६१) को दुधलाई उद्योगको प्रयोगशालामा परीक्षण गर्दा पनि चिल्लो पदार्थको मात्रा न्यूनतम अनिवार्य मापदण्डभन्दा कम पाइएको पुष्टि भएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३३ अनुसार, उत्पादन भई बिक्री वितरणको लागि तयारी अवस्थामा रहेको ५१९ केट (प्रत्येक ५०० मिलि × २० पोका प्रति क्रेट) प्रशोधित दुधलाई रोक्का राखिएको छ।

थप अनुसन्धानका लागि प्रयोगशालामा नमुना सङ्कलन गरिएको छ।

विभागकी प्रवक्ता डा. बाल कुमारी शर्माका अनुसार यस व्याचको दुध विक्री वितरण नगर्न उद्योगलाई निर्देशन दिइएको छ।