काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लाे ८ महिनामा अनुदानित रासायनिक मलको आपूर्ति, बिक्री तथा मौज्दातसम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक तथ्याङ्कअनुसार सरकारको वार्षिक ६ लाख मेट्रिक टन मल आपूर्तिको लक्ष्यलाई आधार मानेर हालसम्म करिब ४ लाख ९१ हजार ३ सय मेट्रिक टनका लागि टेण्डर प्रक्रिया सम्पन्न भएको छ। यस अवधिका लागि विनियोजित बजेट २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ रहेको छ।
मन्त्रालयका अनुसार हालसम्म युरिया, डीएपी र पोटास गरी तीन प्रमुख प्रकारका रासायनिक मलको आपूर्ति तथा वितरण प्रक्रिया निरन्तर रहेको छ। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आपूर्ति गरिएको कुल मलको परिमाण करिब ४ लाख ९५ हजार ९०७ मेट्रिक टन पुगेको छ। यसमध्ये युरिया सबैभन्दा बढी २ लाख ९९ हजार ४८.९ मेट्रिक टन, डीएपी १ लाख ७५ हजार ३३४.२५ मेट्रिक टन र पोटास २१ हजार ५२३.८५ मेट्रिक टन रहेको छ।
त्यसैगरी बिक्री वितरणतर्फ हालसम्म करिब ४ लाख ६ हजार ९१.५ मेट्रिक टन मल बिक्री भएको देखिएको छ। बिक्री भएको परिमाणमा युरिया २ लाख ४० हजार ३७ मेट्रिक टन, डीएपी १ लाख ५३ हजार ५३१.४ मेट्रिक टन र पोटास १२ हजार ५२३.१ मेट्रिक टन रहेको मन्त्रालयले जनाएको छ। गत आर्थिक वर्ष २०८१/८२ को बाँकी मौज्दातसमेत समावेश गरिएको यस तथ्याङ्कले वितरणको वर्तमान अवस्था स्पष्ट पार्ने बताइएको छ।
गोदाममा हाल करिब १ लाख ३७ हजार ६६३.७ मेट्रिक टन मल मौज्दात रहेको छ। यसमध्ये युरिया, डीएपी र पोटास क्रमशः विभिन्न परिमाणमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनका गोदाममा सुरक्षित रहेको जनाइएको छ। त्यस्तै, आपूर्तिको क्रममा रहेको (मार्गस्थ) मलको परिमाण पनि उल्लेख गरिएको छ, जसअनुसार करिब १६ हजार ३८२.२ मेट्रिक टन मल देशभित्र आउने क्रममा रहेको छ।


प्रतिक्रिया दिनुहोस्