काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजधानी भित्रिने फलफूल तथा तरकारीमा गरिएको विषादी अवशेष परीक्षणको नतिजा सार्वजनिक गरेको छ।
विभागका अनुसार चैत ८ गते राति १० बजेदेखि चैत ९ गते बिहान ४ बजेसम्म थानकोट (नागढुङ्गा) नाकामा अनुगमन गरिएको थियो। उक्त अवधिमा काठमाडौं भित्रिने फलफूल तथा तरकारी बोकेका १६ वटा सवारी साधनबाट ३१ वटा नमुना सङ्कलन गरी मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत परीक्षण गरिएको थियो।
परीक्षणका क्रममा आरबीपीआर (RBPR) विधिबाट कार्बामेट र अर्गानो–फस्फोरस समूहका विषादीको अवशेष जाँच गरिएको विभागले जनाएको छ। परीक्षण नतिजा अनुसार अधिकतम इन्जाइम इनहिबिसन २८.०५३ प्रतिशत (धनिया) र न्यूनतम ०.७१५८ प्रतिशत (काक्रो) मापन गरिएको थियो।
विभागका अनुसार परीक्षण गरिएका सबै ३१ वटा नमुनाको नतिजा अनुकूल रहेको छ, जसले बजारमा बिक्री वितरण भइरहेको फलफूल तथा तरकारीमा विषादीको मात्रा स्वीकृत सीमाभित्र रहेको संकेत गर्दछ।
अनुगमनका क्रममा मटरकोसा, ब्रोकाउली, बन्दा, काउली, फर्सी, सिमी, काक्रो, घिरौला, धनिया, लसुन पत्ता तथा तोरी र बेथु सागका नमुना संकलन गरिएको थियो। यी सामग्री धादिङ, चितवन, नुवाकोट र गोरखाबाट काठमाडौं ल्याइ कालीमाटी, जोरपाटी र बल्खुस्थित फलफूल तथा तरकारी बजारमा बिक्री हुने गरेको पाइएको विभागले जनाएको छ।
उक्त अनुगमन तथा परीक्षण कार्यमा सुशन निरौला, पवन कुमार कुर्मी, भरत रोकाया, सुमन थोकर तामाङ, शिवशंकर श्रेष्ठ र विजयकान्त चौधरी संलग्न रहेका थिए।


प्रतिक्रिया दिनुहोस्