आजको मौसम : केही ठाउँमा वर्षा र हिमपातको सम्भावना


काठमाडौँ । आज देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बादल लाग्नेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

कोशी र गण्डकीका केही स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना विभागले औंल्याएको छ।

रातिको समयमा सुदूरपश्चिमसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहनेछ भने तराई क्षेत्र भने सामान्यतया खुला रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा राति पनि एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ।

विभागले मौसममा आएको परिवर्तनसँगै पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।