वीर अस्पतालमा निःशुल्क क्यान्सर स्क्रिनिङ सुरु, पहिलो दिनमै १३६ महिलाको परीक्षण


काठमाडौं। काठमाडौं महानगरपालिका को सहयोगमा वीर अस्पताल मा स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको निःशुल्क स्क्रिनिङ कार्यक्रम सुरु भएको छ।

कार्यक्रमको सोमबार उद्घाटन गर्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले महिलामा स्तन र सर्भाइकल क्यान्सरको जोखिम उच्च भएकाले समयमै परीक्षण आवश्यक रहेको बताइन्।

उनले क्यान्सर समयमै पहिचान भए उपचार सम्भव हुने उल्लेख गर्दै डर, लाज र सचेतनाको अभावका कारण धेरै महिलाले परीक्षण नगर्ने गरेको बताइन्। “अब यी अवरोध तोडेर स्वास्थ्य परीक्षणमा अघि बढ्नुपर्ने समय आएको छ,” उनले भनिन्।

महानगरका अनुसार प्रत्येक वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत नाम दर्ता गर्न सकिनेछ भने ‘क्यू सिस्टम’ अनुसार समय व्यवस्थापन गरिनेछ।

कार्यक्रम वैशाख २० गतेसम्म सञ्चालन हुनेछ। पहिलो दिन नै १३६ जनाले सेवा लिएको महानगरले जनाएको छ।